देउवासँग भिड्ने सभापतिको उम्मेदवार छान्न कांग्रेसको इतर समूहलाई सकस-Sutra News

देउवासँग भिड्ने सभापतिको उम्मेदवार छान्न कांग्रेसको इतर समूहलाई सकस

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं-१४औं महाधिवेशन ७–१० फागुन ०७७ मा काठमाडौंमा गर्ने तय भएपछि कांग्रेसका शीर्ष नेताहरू आगामी महाधिवेशनबाट सभापति बन्ने रस्साकस्सी सुरु गरेका छन् । रस्साकस्सीको चर्चामा सभापति शेरबहादुर देउवा र गत महाधिवेशनमा उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल त छन् नै,अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, प्रकाशमान सिंहलगायत छन् ।



तर, १३औँ महाधिवेशनजस्तै अर्काे समूहमा सभापतिका प्रतिस्पर्धी अधिक देखिए भने वर्तमान सभापतिमा फेरिपनि शेरबहादुर देउवाले नै बाजी मार्ने सम्भावना बढी देखिएको छ । देउवा निकट स्रोतका भनाइमा, संस्थापन पक्षबाट निर्विरोध सभापतिको उम्मेदवार देउवा नै पक्कापक्की छ । देउवा समूहबाट उपसभापति बिमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवारी दिने चर्चा चले पनि देउवाले नै चाहेको स्थितिमा निधि पछि हट्नसक्ने सम्भावना ज्यादा छ ।

पौडेल समूहलाई सकस

त्यसो त, वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्नो समूहबाट सहमतिमै सभापतिको उम्मेदवार तय हुने बताउँछन् । ‘हाम्रो तर्फबाट सभापतिको उम्मेदवार र अन्य पदाधिकारी को बन्ने त्यसको निधो भइसकेको छैन,’ उनले भने, ‘समय आएपछि मिलनबिन्दु खोज्छौं । अहिले सामूहिक भावनाले काम गरिरहेका छौँ । त्यसैले हाम्रो तर्फबाट सहमतिमै उम्मेवारी हुनेछ ।’

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिए पनि पराजित भएका पौडेल १४औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् । पौडेल भन्छन्, ‘सभापतिको उम्मेदवार म स्वतः हो नि ! नियमितरूपमा पार्टीको काम गरिरोखको छु । उम्मेदवारी नदिने भए त सन्यास लिन्थेँ ।’ यसै आधारमा आफ्नो समूहका साथीहरूको सहयोगमा यसपटक सभापतिमा निर्वाचित हुने विश्वास छ उनको ।

त्यसो त,आफू निकट अन्य नेताहरू पनि सभापतिको आकांक्षी रहेको पौडेलले नबुझेका छैनन् । अन्य नेताहरूको सभापतिमा प्रतिस्पर्धा गर्ने चाहनालाई भने पौडेलले स्वभाविक ठान्छन् । ‘राजनीति गर्ने मानिसमा राजनीतिको उच्च पदमा पुग्ने आकांक्षा हुनु स्वभाविक पनि हो, तर आकांक्षामात्रै गरेर हुँदैन, सम्भाव्यता पनि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘धाँधली गरेर अगाडि बढ्नेहरूसँग चुनाव जित्न सजिलो छैन । सबैले सोचेर एउटा निष्कर्ष निकाल्नुपर्छ ।’

पौडेलले संस्थापन इतर समूहबाट आफू सभापतिको सर्वसम्मत उम्मेदवार बन्ने विश्वास गरेपनि उनको चाहेजस्तो नहुनसक्छ । संस्थापन इतर समूह सहमतिमै सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयासमा छ । तर,सहमति नभए एक्लाएक्लै उम्मेदवारी दिने तयारीमा सो समूहका नेताहरू छन् । जस्तो कि, प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी घोषणा गरेर प्रचारसमेत थालिसकेका छन् ।

कोइराला परिवारबाट शेखर

सुशील कोइरालाको निधनपछि कांग्रेसको नेतत्व गुमाएको कोइराला परिवार यसपटक नेतृत्व फेरि आफ्नो पक्षमा फर्काउन लागिपरेको छ । खासमा १३औँ महाधिवेशनमा देउवा निर्वाचित भएयता कोइराला परिवारका तीन हस्तीहरू डा.शशांक, शेखर र सुजाता कोइरालाले विभिन्न अवसरमा आफूहरू तीनैजना एकजुट भएको सन्देश प्रवाहित गरिरहेका छन् ।

गत महाधिवेशनमा कोइराला परिवारबाट सहमतिमै डा.शशांक वरिष्ठ नेता पौडेलको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । पौडेल सभापतिमा पराजित भए पनि डा.शशांक विजयी पनि भए । त्यतिबेलै के चर्चा चलेको थियो भने, १४औँ महाधिवेशनमा डा. शेखर सभापतिको उम्मेदवार बन्ने सहमतिका साथ १३औँ महाधिवेशनमा डा. शशांकलाई महामन्त्रीको उम्मेदवार बनाइएको हो ।

त्यसैले, यतिबेला केन्द्रीय सदस्य डा. शेखर सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । त्यही कारण लकडाउनअघि उनी मुलुकका अधिकांश जिल्ला पुगेर नेता तथा कार्यकर्तासँग छलफलसमेत चलाएका थिए । महाधिवेशनको तिथि तय गरिएपछि डा. शेखरले देशभरिका नेता/कार्यकर्तासँगको सम्पर्कलाई थप घनिभूत बनाएका छन् ।

त्यसो त, महामन्त्री डा. शशांक पनि सभापतिका लागि आकांक्षी हुन् । तर, कोइराला परिवारभित्र भएको आन्तरिक सहमतिअनुसार उनले डा. शेखर कोइरालालाई नै सघाउने शशांक निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘मिडियाले शशांक कोइराला सभापतिमा उठ्ने प्रचार गरेका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले कोइराला परिवारबाट शेखर कोइराला आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नु हुनेछ । यसमा सुजाता कोइरालाको पनि सहमति छ ।’

डा. शेखर पनि आफूले सभापतिको उम्मेदवारी दिएको अवस्थामा शशांकले सघाउनेमा ढुक्क छन् । उनले भने, ‘म उम्मेदवार बन्ने भएपछि उहाँ (शशांक कोइराला)पनि सहमति हुन्छजस्तो लाग्छ । यस विषयमा हामी सल्लाह गर्दैछौं ।’ पार्टीलाई लोकतान्त्रिक विधिबाट अघि बढाउन, बढ्दो कम्युनिष्ट शक्तिसँग जुध्न र विजय पनि हासिल गर्नसक्ने उम्मेदवार जरुरी रहेको बताउँदै उनी भन्छन्, ‘त्यस्तो उम्मेदवार म पनि हुन सक्छु, अर्को पनि हुन सक्छ ।’

छलफलमा सिटौला समूह

१३औँ महाधिवेशनमा पूर्वमहामन्त्री कृष्ण सिटौला पनि उम्मेदवारी दिएका थिए । यसपटक पनि उम्मेदवारी दिने/नदिने विषयमा आफूले छलफल सुरु गरेको सिटौला बताउँछन् । सिटौला समूहसँग आबद्ध केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पार्र्टीको आन्तरिक लोकतन्त्रका सुदृढ गर्न यो समूहबाट सभापतिको उम्मेदवार आवश्यक रहेको बताउँछन् ।

सिटौला आफैँ उम्मेदवार बने भने विजय हासिल गर्ने स्थितिमा छैनन् । तर, कसलाई सभापति बनाउने भन्नेमा निर्णायक छन् । सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट छन् सिटौला । सिटौला फेरिपनि उम्मेदवार बने भने गत महाधिवेशनजस्तै उनले देउवा र सिटौला दुबै पक्षको मतमा कैँची लगाइदिन सक्छन् । देउवा, सिटौला र पौडेल अलग–अलग प्रतिस्पर्धा गर्दा कसैले पनि विजयका लागि आवश्यक पर्ने ५० प्रतिशत भोट नपाउन सक्छन् ।

त्यो स्थितिमा सिटौलासँग देउवा वा पौडेल जो मिल्न सक्छ, उसकै तराजु भारी हुन्छ । १३औँ महाधिवेशनमा तीनैजना उम्मेदवार बन्दा कसैले पनि आवश्यक ५० प्रतिसत मत ल्याउन नसक्दा सिटौला समूहको सहयोग पाएपछि देउवा सभापति निर्वाचित भएका थिए ।

महाधिवेशनको गणित

विश्लेषक पुरञ्जन आचार्यका भनाइमा, १३औँ महाधिवेशनताका कांग्रेसको आन्तरिक समीकरण जस्तो थियो, अहिले पनि त्यसमा तात्विक अन्तर छैन । अर्थात्, सिटौला समूहको जसले समर्थन प्राप्त गर्छ, उसकै तराजु भारी हुन्छ ।

यद्यपि, तोकिएकै मितिमा महाधिवेशन होला भन्नेमा आचार्य विश्वस्त छैनन् । महाधिवेशन भइहाल्यो भने त्यो एकताको महाधिवेशन हुने बताउँदै आचार्य थप्छन्, ‘कांग्रेसमा यसपटक सर्वसम्मत सभापति चयन गर्ने बाटोतिर कांग्रेस जानसक्छ । त्यो स्थितिमा १४औँ महाधिवेशन एकताको महाधिवेशन हुन्छ । त्यसो भयो भने पार्टी सभापतिलगायत पदाधिकारीहरू सर्वसम्मतिबाट पारित हुनेछन् ।’

आचार्यका भनाइमा, संस्थापन इतरपक्षबाट सभापतिको उम्मेदवार बन्न खोज्नेहरू महाधिवेशनसम्म पछि हट्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट