‘जनैपूर्णिमा : आत्मसंयम र आत्मअनुशासनमा बाँध्ने पर्व’-Sutra News

‘जनैपूर्णिमा : आत्मसंयम र आत्मअनुशासनमा बाँध्ने पर्व’

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७
काठमाडौं–आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ । आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन भएको बताइन्छ ।
 
शास्त्रीय मान्यताअनुसार विशेषगरी ब्राह्मण, क्षेत्री र वैश्य समुदायले गरी जनै मन्त्रेर लगाउने पनि गर्छन् । आध्यात्मिक गुरु एलपी भानु शर्माले सूत्रन्यूजडटकमसँगको कुराकानीमा यस पर्वको धार्मिक र बैज्ञानिक महत्वबारे यसरी बताए :
 
यस्ता पर्वहरु मानिसलाई अनुशासन र धार्मिकतामा बाँध्न सुरु गरिएका हुन् । यसमा छुट्टाछुटै विशेष महत्वका क्रिया हुन्छन् । तिनका विभिन्न विधि हुन्छन् ।
हाम्रो शरीरमा रहेका ७ वटा चक्रहरुको याद गर्ने र वर्षभरी ‘ती चक्रलाई म जगाउँछु, तीनको संरक्षणमा बस्छु, यी चक्र (शक्ति) लाई म जगाउँछु’ भन्ने संकल्पस्वरुप डोरो बाँधिन्छ ।
 
डोरो बाँध्नु भनेको संकल्प हो । कुनै पनि डोरो बाँध्नु भनेको ‘म यस्तो गर्छु’ भन्ने संकल्प गर्नु हो । मुख्य कुरो, आफूभित्र रहेका सम्भावना जगाउन, आफ्नो दीव्यता अरुको दीव्यतासँग जोड्न, दिदीभाई, दाजुबहिनी, घरपरिवार, समाजसँग जोड्न मनाइने चाडहरु हुन् यी ।
LP Bhanusharama.PNG
जनैमा धेरै डोरा हुन्छन् । तर मुख्यतया यसलाई तीन भागमा बाँडिन्छ– ब्रह्मा, विष्णु र महेशर । ब्रह्मा भनेको ज्ञान, विष्णु भनेको प्रेम र महेश्वर भनेको योग हुन् । योग भनेको ज्ञान योग, भक्ति योग र कर्म योग हो । यी तीनवटा योगमा म बाँधिन्छु भनेर जनै बाँध्ने हो । जनै बाँध्नु आफैमा महत्वपूर्ण कुरा होइन। यसको समाजिक भन्दा धार्मिक र आध्यात्मिक अर्थ छ ।
 
‘म ज्ञान योग, भक्ति योग र कर्मयोगमा लाग्छु, जीवनमा जे खान हुन्छ, त्यो मात्रै खान्छु, जे बोल्न हुन्छ, त्यो मात्रै बोल्छु, जे गर्न हुन्छ त्यो मात्रै गर्छु, जे सोच्न हुन्छ,त्यो मात्रै सोच्छु र म अब अनुशासित हुन्छु’ भनेर प्रण गर्ने हो । ‘जीवनलाई लथालिङ्ग, भताभुङ्ग हुन दिन्नँ’ भनेर आफैले आफैप्रति गरेको संकल्पलाई जनै भनिन्छ ।
 
आत्मसंयम, आत्मअनुशासनमा बाँध्ने काम यी पर्वले गर्छन् । मानिसले चाह्यो भने यसबाट जीवन बदल्न सक्छ । यसको धार्मिक, आध्यात्मिक महत्व बुझ्ने, आत्मसाथ गर्ने हो भने न कुनै व्यक्ति तनावमा जान्छ, न व्यक्ति विपन्न हुनसक्छ । उत्कृष्ट मनुष्य निर्माण गर्ने सूत्रहरु यी चाडपर्व भित्र लुकेका छन् ।
 
नयाँ पुस्ताले बिर्सदै गएकोबारे…
तर पछिल्लो समय नयाँ पुस्ताले यसको महत्व बिर्सँदै गएको छ । मान्छेहरुले यसको महत्व बुझेनन् । हामीले बुझाउनै नसक्दा यस्तो भयो । पहिलो पुस्ताको काम हो, दोस्रो पुस्तालाई बुझाउने । दोस्रो पुस्ताको काम हो, तेस्रो पुस्तालाई बुझाउने ।
 
पहिलो पुस्ता नै भ्रष्ट भएपछि दोस्रो, तेस्रो पुस्ता कसरी ठीक ठाउँमा आउँछ त ? त्यो बुझाउने जिम्मा त हाम्रो हो, संचारमाध्यमको हो, परिवारको हो ।
हामीले बुझाउन सकेनौं भने मान्छे भड्किनु स्वभाविक हो । हामीले फरक प्रकारले यी कुराहरुलाई मनाउन र यसको विज्ञान बुझाउन थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट