किन बढ्दैछ सुनको मूल्य ?-Sutra News

किन बढ्दैछ सुनको मूल्य ?

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं- सुनको मूल्य साउनयता ६ हजार ९ सय रुपैयाँले बढेको छ । साउनको पहिलो दिन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य १८ गतेसम्म आइपुग्दा प्रतितोला ९९ हजार ६ सय रुपैयाँ पुगेको छ ।



सुन–चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले यतिबेला माग बढेपनि उत्पादन घटिरहेको बताए । ‘सन् २०१८ मा अन्तर्राष्ट्रिय बजारमा वार्षिक उत्पादन र कारोबार ४ हजार ५ सय टन रहेकोमा कोभिडका कारण अहिले घटेर ३ हजार ५ सय टनमात्रै भएको छ,’ उनले भने ।

उनका अनुसार यी पाँच कारणले सुनको मूल्य बढिरहेको छ ।

– विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लगानीकर्ताहरू अन्य क्षेत्रभन्दा सुनमा लगानी गर्न आकर्षित देखिएका छन् ।
– अमेरिका र चीनको ब्यापार युद्ध ।
– सुनको भन्सार शुल्क बढ्नु ।
– विश्व बैंकहरूको मनिटरिङ गर्ने संस्थाले नोट निष्काशन गर्न २०२१ देखि सुनलाई महत्व दिनु ।
– अन्तर्राष्ट्रिय बजारमा सुनको उत्पादनमा कमि आउनु ।

सुन–चाँदीको मूल्य बढ्नुको मुख्य कारण हो, कोरोना भाइरस । यसैका कारण अन्य क्षेत्रका व्यापार–व्यवसाय ठप्प भएको छ ।

विश्व अर्थतन्त्र धरासयी बनेको छ । जसको प्रत्यक्ष असर सुन–चाँदी व्यवसायमा परेको छ । अन्य क्षेत्रमा लगानी गर्दा आफ्नो पुँजी सुरक्षित नभएका कारण लगानीकर्ताहरू सुनतर्फ लगानी गर्न आकर्षित भएको शाक्यले बताए ।

नेपालको सुन–चाँदी व्यवसाय पूरै आयातमा निर्भर रहेको छ । यसकारण नेपालमा सुन–चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार निर्धारण हुन्छ ।

सुनको मूल्य बढ्नुको अर्को कारण नेपाल सरकारले आर्थिक वर्ष २०७७–०७८ को बजेटमा सुनको भन्सार शुल्क बढाउनु पनि हो । गत आर्थिक वर्षभन्दा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ रहेको सुनको भन्सार शुल्क बढेर प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ पुगेको छ । यो आर्थिक वर्षमा सुनको भन्सार रेट १५ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य बढ्नुको कारण अमेरिका र चीनको व्यापार युद्धलाई पनि लिइएको छ । लामो समयदेखि चलेको अमेरिका र चीनको व्यापार युद्धले अहिले झन उग्ररुप लिएको र यसको असर सुन–चाँदी व्यवसायमा परेको शाक्यको भनाइ छ ।

‘बैंक अफ अमेरिकाले बाउन्सको ब्याजदर घटाएर २५ प्रतिशतमा ल्याएको छ । यसको कारण पनि लगानीकर्ताहरूले सुनमा लगानी गरेका छन् । जसका कारण सुनको मूल्य बढेको हो,’ शाक्यले भने ।

विश्वका बैंकहरू मनिटरिङ गर्ने संस्थाले नोट निष्काशनको लागि गुठीमा राख्नुपर्ने सम्पत्तिमा २०२१ बाट सुनलाई महत्व दिने योजना बनाएको कारण पनि विश्व बजारमा सुनको भाउ बढेको सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मूल्य बढेसँगै सुनको ब्यापार भने ठप्प बनेका छ । बजारमा सुन किन्नेभन्दा पनि सुन बेच्नेहरूको संख्या बढेको छ ।

साउनमा सुनको मूल्य

gold price table.JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट