नेविसंघले पूर्णता पाएन, महाधिवेशन अन्योलमा-Sutra News

नेविसंघले पूर्णता पाएन, महाधिवेशन अन्योलमा

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

काठमाडौं–नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । १ फागुन ०७६ मा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने गरी राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।



०७३ साउनमा सम्पन्न संघको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२ औँ निर्वाचन गर्न नसकेपछि ०७५ माघमा राजीनामा दिएका थिए । उनको राजिनामासँगै संघको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो । करिव १३ महिनापछि ३२ वर्ष बढी उमेरका ढुंगानाको अध्यक्षतामा नेविसंघ गठन भएको थियो ।

समितिमा हाल अध्यक्ष ढुंगाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे छन् । संघका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ ले पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेको आरोप लगाउँछन् ।

संघको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ । ‘पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ’,उनले भने । संघका पूर्व कोषाध्यक्ष शिव रिमाल मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी संगठनको यो अवस्थामा आउनु दुःखद् भएको जानकारी दिए । बाँकी कार्यसमिति तत्काल मनोनीत गरेर १२ औँ महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ ।

संघका अध्यक्ष ढुंगाना कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकेको बताउँछन् । संघका पूर्व कार्यसमितिका विभिन्न नेताले उपत्यका तथा जिल्लामा एकलौटी ढंढले निर्माण गरेको समिति पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि नै विघटन गरिसकेको छ ।

महामन्त्री भट्टराईले पार्टीले पूर्ण समिति नल्याएका कारण महाधिवेशन प्रक्रिया अगाडि बढाउन नसकेको बताए । समितिलाई पूर्णता दिएसँगै संघलाई महाधिवेशन उन्मुख बनाउने उनको भनाइ छ ।

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको संघको कार्यसमितिले पूर्णता नपाउँदा ठूलो समस्या उत्पन्न भएको छ । ७ वैशाख ०२७ मा पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको संघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे ।

पहिलो अध्यक्ष विपिन कोइराला हुन् । स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । संघको ५० वर्षको इतिहासमा ०५९ मा तत्कालीन अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरु अध्यक्षले समयमा अधिवेशन गराउन सकेनन् । विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए ।

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचित अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको तदर्थ समितिलाई चाँडो पूर्णता दिनेबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट