राखेप उपाध्यक्ष र सदस्य सचिवको शपथ-Sutra News

राखेप उपाध्यक्ष र सदस्य सचिवको शपथ

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेशकुमार सिलवालले शपथ लिएका छन्।



युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा आयोजित कार्यक्रममा कोइराला र सिलवाललाई शपथ गराए। यही साउन १२ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोइराला र सिलवाललाई नियुक्त गरेको थियो।

सिलवाल दोस्रोपटक सदस्य सचिव पदमा नियुक्त भएका हुन्। नयाँ खेलकूद विकास ऐन, २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्य सचिवको पदमा पहिलोपटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन्।

राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएको हो। यसअघि राजनीतिक आधारमा नियुक्ति हुने परम्परा थियो। युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो।

कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले आफ्नो एकवर्षे कार्यकालमा धेरै कुरा बुझ्ने अवसर पाएको भन्दै खेलकुद क्षेत्रलाई आफ्नो जीवनको महत्वपूर्ण अंग बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले खेलकुदको माहोल बनाउने, खेलकुदलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गर्ने, सुशासन र पारदर्शिता कायम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट