कर्णाली नदीमा पानीको बहाब खतरा नजिक-Sutra News

कर्णाली नदीमा पानीको बहाब खतरा नजिक

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

कैलाली- गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाब खतरा नजीक पुगेको छ।



इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए। यो नदीमा पानीको बहाब ११ मिटर पुगेपछि खतरा मानिन्छ।

पानीको बहाब खतरा नजीक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन सूचना दिइएको बोगटीले जानकारी दिए। कर्णाली नदीमा आएको बाढीले बर्दियाको नदी तटीय क्षेत्रका साथै कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबान र कटानको जोखिममा परेको छ। कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न कुला तथा खोलामा पनि बहाब बढेको छ।

उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका हुन्।

नदीको बाढीले कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका कतिपय वडाका गाउँबस्ती डुबानमा परेका सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट