वीर अस्पताललाई नमूना अस्पताल बनाऔं : स्वास्थ्यमन्त्री-Sutra News

वीर अस्पताललाई नमूना अस्पताल बनाऔं : स्वास्थ्यमन्त्री

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१ औं वार्षिकोत्सवको उद्घाटन समारोहमा उनले वीर अस्पतालको सेवा, गुणस्तरलाई अझ विस्तार गरी अहिलेको स्वास्थ्य सेवाको नेतृत्व गर्न निर्देशन दिएका हुन् ।



उनले सरकारले स्वास्थ्य सेवा सुधारका काम गर्न थालेको र कोभिड–१९ का कारणले केही ढिलाइ भएको बताए । अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा नियमित रुपमा प्रदान गर्नाका साथै कोभिड–१९ सँग सम्बन्धित परीक्षणको सेवासमेत प्रदान गरेको उल्लेख गर्दै नेपाल र नेपाली जनताको गौरव एवम् पहिचानका रुपमा स्थापित अस्पतालले थप सेवा विस्तार र प्रभावकारी तुल्याउँदै नमूना अस्पतालका रुपमा आफूलाई स्थापित गराउनुपर्ने बताए ।

उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा मन्त्रालयले खेलेको भूमिकाले नियन्त्रणमा सहज भएको भन्दै सीमित साधन स्रोतका बाबजुद विकसित मुलुक जस्तै यहाँ पनि समाजमा रहेका संक्रमित व्यक्तिलाई खोजेर उपचार गरिएको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताललाई सबै नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन व्यवस्थित बनाउनुपर्ने बताए । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालले स्वास्थ्य सेवालाई व्यवसायबाट सेवामूलक बनाइने भन्दै स्वास्थ्य सेवालाई पहुँचसँग मात्र नजोडेर गुणस्तरसँग पनि जोड्नुपर्ने बताए ।

उनले सरकारसँग पर्याप्त मात्रामा साधन स्रोत भए पनि काम गर्ने विधि र शैलीको अभाव रहेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले अस्पताल जनताको सेवामूलक संस्थाका रुपमा विकास गरिएको बताए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सुबोध अधिकारीले आगामी दिनमा आफ्नै शैक्षिक कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दिए । प्रतिष्ठानका डिन प्रा.डा. पियुष दाहालले प्रतिष्ठानलाई चिकित्सा विज्ञान राष्ट्रिय विश्वविद्यालय बनाइनुपर्ने बताए ।

अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले अस्पतालले गुणस्तरीय तथा भरपर्दो सेवा न्यून शुल्कमा प्रदान गरिरहेको बताए । १९४७ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री वीर शमशेरले अस्पताल निर्माण गरेका थिए । १५ श्ययाबाट शुरु भएको अस्तपालमा अहिले ४६० श्यया र २०० श्ययाको राष्ट्रिय ट्रमा सेन्टर रहेको छ ।

अस्पतालको सेवा विस्तार गर्नका लागि थप ५०० श्ययाको सर्जिकल भवन निर्माण गर्न थालिएको छ । अस्पतालले अहिले नर्सिङ तथा चिकित्सा क्षेत्रतर्फ प्रवीणता प्रमाणपत्र तहदेखि स्नातक, स्नातकोत्तर तह सम्मको अध्ययन–अध्यापन गराउँदै आइरहेको छ । अस्पतालले अहिले बहिरङ्ग सेवा, आकस्मिक सेवालगायत विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट