वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट-Sutra News

वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ। नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो।



वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ। आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ। महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०-१२ जनाको समूहले एकाएक आक्रमण गरेको बताए। 

शनिबार राति सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समूहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएका थिए। ‘सो समूहले राति गाँउमा हो हल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने कार्य गरिरहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाँकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राति वडाध्यक्षलाई ठीक पार्नुपर्छ भनेर हिँडका थिए,’ उनले भने।

मदिरा पिएर होहल्ला गर्ने समूहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानीय बासिन्दाले बताएका छन्। वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानिय बासिन्दाको भनाइ छ।

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृतरुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट