विदेशमा अलपत्र परेकालाई निगमले जुलाई ३१ देखि उद्धार उडान गर्ने-Sutra News

विदेशमा अलपत्र परेकालाई निगमले जुलाई ३१ देखि उद्धार उडान गर्ने

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

काठमाडौं- विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ। विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन्।



निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै उद्धार उडानको तालिका बनाइने जानकारी दिए। यसैबीच निगमको जुलाई २७ तारिखका लागि बैंगलौर–काठमाडौँ उद्धार उडान दुई दिनपछि अर्थात् जुलाई २७ तारिखका लागि सारिएको विज्ञप्तिमार्फत् जनाएको छ।

यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधामा निगमले क्षमा मागेको छ। निगमका उद्धार उडान तालिका र भाडादर सम्बन्धि जानकारी चाहिएमा निगम कार्यालयमा फोन तथा वेवसाइटमा हेर्न पनि अनुरोध गरेको छ।

यता हिमालयले पनि ३१ जुलाईमा चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने जनाएको छ। थप उडानको यकिन भइनसकेको कम्पनीले उल्लेख गरेको छ। यसअघि उद्धार उडानका लागि नेपालका दुई तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए। गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत् कुवेतबाट नेपाली ल्याएको थियो। यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन्।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो। अहिलेसम्म करिब ३५ हजार नेपाली स्वेदश फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट