सरकारका हरेक निर्णयहरू हठात र तयारीरहित : महत-Sutra News

सरकारका हरेक निर्णयहरू हठात र तयारीरहित : महत

शुक्रबार, ९ साउन २०७७

शुक्रबार, ९ साउन २०७७

काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारका हरेक निर्णयहरू हठात र तयारीरहित रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै डा.महतले उक्त कुरा बताएका हुन् ।



कांग्रेस कोभिड–१९ अनुगमन समिति संयोजक समेत रहेका महतले भने,‘मूलभूत रूपमा सरकारका हरेक निर्णयहरू हठात र तयारीरहित देखिन्छन् । लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकायो । अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमण प्रति सरकारको तयारी शून्य देखिन्छ ।’

सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारू गर्ने तर्फ पर्याप्त ध्यान नदिएको बताउँदै उनले लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको महतले बताए ।  

संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरूमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने भन्दै यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक रहेको बताए । 

लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरूमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरू पिपीई (मास्क, स्यानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ पनि महतले सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट