कोरोना संक्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’-Sutra News

कोरोना संक्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’

शुक्रबार, ९ साउन २०७७

शुक्रबार, ९ साउन २०७७

जनकपुर– कोरोनाको संक्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ । एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।



यस प्रदेशमा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई धरानस्थित सो अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका मानिस, छरछिमेकमा संक्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो ।

त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ । मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट संक्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिए ।

कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ । संक्रमण समुदायमा फैलिने सम्भावना देखेपछि बिहीबारदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि आज दोस्रो दिन राजविराज बजार सुनसान देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाभर अर्को आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेको हो । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, सवारी साधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट