‘लुजुम’ले एक लाखदेखि दस लाखसम्मको दुर्घटना फन्ड दिने [भिडियोसहित]-Sutra News

‘लुजुम’ले एक लाखदेखि दस लाखसम्मको दुर्घटना फन्ड दिने [भिडियोसहित]

बिहिबार, ८ साउन २०७७

बिहिबार, ८ साउन २०७७

काठमाडौं- नेपालमा राइड सेयरिङ सेवाको सुरुआत भएको धेरै भएको छैन। केही वर्षअघिदेखि टुटल, पठाओले सक्रियरुपमा राजधानीलगायत देशका केही सहरमा आफ्नो सेवा प्रदान गर्दै आएका छन्। यहीबीचमा ‘लुजुमु’ एपले काठमाडौं उपत्यकामा राइड सेयरिङ सेवा सुरु गरेको छ। लकडाउन खुलेसँगै लुजुम कम्युट सर्भिसेस प्रालीले आफ्नो सेवा सुचारु गरेको हो।



लुजुमका हर्ताकर्ता हुन्- प्रतीक सुब्बा, डेनिस कार्की र गुन्जा सुनुवार। यी तीनै युवा विदेशमा पढेर नेपाल फर्किएका छन्। नेपालमै बढ्दो बेरोजगारीलाई न्युनीकरण गर्न र युवाहरुलाई रोजगारीको अवसर दिन उनीहरुले लुजुम राइड सेयरिङ सेवाको शुभारम्भ गरेका छन्।

लुजुमका कार्यकारी निर्देश प्रतीक सुब्बाले फ्रान्समा घुम्दैगर्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने सपना बुनेका थिए। नेपालमा बढ्दो बेरोजगारीले १० हजार कमाउन पनि गाह्रो रहेको अवस्थामा यो सेवाले राम्रै प्रभाव पार्ने उनको अनुमान छ।

हुन त काठमाडौं उपत्यकामा टुटल, पठाओलगायतले सेवा दिइरहेका छन्। यो भीडमा लुजुममा सेवाग्राहीहरु कसरी प्रभावित हुन्छन् त भन्ने सबालमा प्रतीक भन्छन्, ‘हामीले उनीहरुका गल्ती कमजोरी औंल्याएर यो सेवाको मोडल तयार पारेका छौं।’

जसले राम्रो सर्भिस दिनसक्छ, सेवाग्राही उसैतिर आकर्षित हुने उनको बुझाइ छ। जति धेरै प्रतिस्पर्धी भयो बजारमा त्यति नै सेवा प्रभावकारी बन्ने उनको मान्यता छ। उनले नेपालमा अझै पनि दस वटा राइड सेयरिङ सेवा चल्नसक्ने अनुमान गरे। ‘अहिलेका सबै सेवा प्रदायकहरु काठमाडौं वा भनौं सहर केन्द्रीत छन्। देशमा सबै स्थानमा पुर्‍याउन कम्तीमा पनि दस वटा सेवा प्रदायक कम्पनी चाहिन्छ,’ उनी भन्छन्।

लुजुम नामाकरण गर्द धेरै समय लागेको उनले बताए। ‘काम सुरु गर्दैगर्दा धेरै नामहरु आए। त्यसबाट हामीले सर्टलिस्ट गर्‍यौं,’ उनले भने। प्रतीकले ‘लौ जाउँ’को सर्टफर्म ‘लुजुम’ बनाएको बताए। नेपाली भाकासँग ठ्याक्कै मिल्ने भएकाले पनि लुजुमलाई फाइनल गरेको उनले बताए।

कोरोना भाइरसको महामारी र ४ महिनाको लकडाउनले नेपालको अर्थतन्त्र पनि खस्केको छ। योबेला कम्पनीका झनै धेरै चुनौतीहरु छन्। प्रतीक भन्छन्, ‘लकडाउनको अन्त्य भए पनि कोरोना संक्रमण बढिरहेको अवस्था छ। कोरोनाबाट बच्न विभिन्न सावधानी अपनाउनुपर्ने अवस्था छ। यति हुँदाहुँदै पनि एप डाउनलोड गर्नेहरु बढिरहेका छन्।’

हप्तादिनमा १० हजार बढीले ‘लुजुम’ एप डाउनलोड गरेको उनले बताए। ‘कोरोना माहामारीका कारण धेरै संख्यामा मानिसहरु बेरोजगार भएका छन्। सबै रोजगारीको खोजीमा हुँदा चुनौतीका बावजुद पनि हामी बजारमा राम्रैसँग जान सक्छौं भन्ने हाम्रो अनुमान हो,’ प्रतीक सुनाउँछन्।

यसका लागि अहिले सामाजिक सञ्जालहरुबाट क्याम्पिङ सुरु गरिरहेको उनले बताए। प्रतीकको मुख्य टार्गेट विदेशबाट फर्किएकाहरु हुन्। ‘कोरोना महामारीले हजारौं युवा स्वदेश फर्किएका छन्। हाम्रो लक्षित समूह अहिलेलाई उनीहरु नै हुन्,’ उनले भने।

तर करको दायरामा नहुँदा सरकारले यसअघि नै टुटल, पठाओलाई बन्देज गरेको थियो। लुजुमले सरकारी प्रक्रिया कसरी पार गर्‍यो भन्ने सबलमा प्रतीक भन्छन्, ‘नेपालको कानुनले नै यस्ता सेवालाई बर्जित गरेको रहेछ। तर प्रविधिको विकास द्रूत गतिमा भइरहेको छ। अहिलेको पुस्ता पनि त्यो प्रविधिलाई अंगाल्दै अगाडि बढिरहेको छ। तसर्थ सरकारले चाहेर पनि यी वा यस्ता सेवाहरुलाई बन्देज लगाउन सक्दैन।’

यस्ता सेवाहरुमा अहिले लाखौं मानिस जोडिएकाले सरकारले बन्द गर्दा लाखौं मानिस एकैपटक प्रभावित पर्ने हुँदा सरकारले यसलाई गम्भीररुपमा लिएको प्रतीकले सुनाए। त्यही भएर पनि यो व्यवसायलाई निरन्तरता दिएको उनले बताए।

उनले काठमाडौंपछि लुजुमलाई तत्कालै इटहरी र विराटनगरमा सुरु गर्ने तयारी रहेको बताए। त्यसपछि देशक अन्य सहरहरुमा पनि यसको विस्तार गरिने प्रतीकले बताए।

लुजुमका विशेषताहरु चाहिँ के के हुन् नि? लुजुमप्रति सेवाग्राही किन आकर्षित होउन? प्रतीक भन्छन्, ‘हामीले राइडिङबाहेक अन्य सेवाहरु पनि उपलब्ध गराएका छौं। जस्तै केही घन्टालाई बाइक रेन्ट लिन सकिन्छ। टेम्पो, सफारी, ट्याक्सी, बोलेरो, स्कर्पियो रेन्ट गर्न सकिन्छ। सबैले स्मार्टफोन बोक्दैनन्। त्यस्ताहरुलाई अफलाइन सेवा उपलब्ध गराएका छौं। उहाँहरुले कम्पनीमा फोन गरेर सवारीसाधन मगाएर गन्तव्यमा पुग्न सक्नुहुन्छ।’

उनले सुरक्षाको सबालमा पनि कम्पनीले अरुभन्दा फरक गर्न खोजेको बताए। जस्तै महिलाहरुको हकमा महिला राइडर नै छान्ने विशेषता, राइडरहरुलाई कम्पनीले ट्र्याकिङ गर्नुका साथै सेवाग्राही र राइडर  दुबैलाई दुर्घटना फन्ड राखेको उनले बताए। सेवाग्राहीलाई एक लाख र राइडरलाई दस लाखसम्मको बीमा उपलब्ध गराउने उनले बताए।

प्रतीकका अनुसार सेवाग्राहीले कम्तीमा दुई किलोमिटरको ५० रुपैयाँ र त्यसपछि प्रत्येक किलोमिटरको १५ रुपैयाँ निर्धारण गरेको बताए। १० किलोमिटर दूरी पार गर्दा १७० तिर्नुपर्ने उनले बताए। जुन टुटल, पठाओभन्दा सस्तो भएको प्रतीकले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट