बन्दाबन्दीमा उडानमार्फत् ३४ हजार बढी नेपाली स्वदेश फर्किए-Sutra News

बन्दाबन्दीमा उडानमार्फत् ३४ हजार बढी नेपाली स्वदेश फर्किए

बिहिबार, ८ साउन २०७७

बिहिबार, ८ साउन २०७७

काठमाडौं- कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन्।



गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत् ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ।

गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत् म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए। उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो। यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।

सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएइ)बाट सबैभन्दा बढी सात हजार ६१७ नेपाली स्वदेश फिरेका केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

यस्तै साउदी अरेबियाबाट पाँच हजार ६११, कुवेतबाट पाँच हजार ५४९, मलेशियाबाट पाँच हजार ३३३ र कतारबाट तीन हजार ९४१ नेपाली स्वदेश फर्किएका छन्।

कोभिड–१९ का कारण नेपालीका प्रमुख श्रम गन्तव्य मुलुक बढी प्रभावित हुँदा त्यहाँबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या उच्च देखिएको हो। खाडी मुलुक र मलेशियामा मात्रै झण्डै २० लाख नेपाली कार्यरत रहेको अनौपचारिक तथ्याङ्क छ।

उद्धार उडानमार्फत् बहराइनबाट ९८०, बङ्गलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अस्ट्रेलियाबाट ६३४, ओमानबाट ४९२ दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३ र थाइल्याण्डबाट ३२६ नेपाली स्वदेश फकिएका छन्।

उद्धार उडानमार्फत् स्वदेश आएकालाई विमानस्थलबाट सोझै ‘होल्डिङ सेन्टर’मा राखेर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको केन्द्रले जनाएको छ।

गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने निर्णय गरेको थियो।

सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दैनिक १५ भन्दा बढी उडान गर्ने तयारी थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट