लमजुङमा पहिराले १८ घर पुरिए-Sutra News

लमजुङमा पहिराले १८ घर पुरिए

बुधबार, ७ साउन २०७७

बुधबार, ७ साउन २०७७

लमजुङ- अविरल वर्षाले पहिरो जाँदा १८ घर पुरिएका छन्। मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन्।



उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताए।

पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले जानकारी दिए।

घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ।

घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताए।

गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकाल्ने कार्यमा छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट