मुख्य प्रशिक्षकका लागि क्यानले प्रक्रिया थाल्ने-Sutra News

मुख्य प्रशिक्षकका लागि क्यानले प्रक्रिया थाल्ने

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ। हालः रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।



क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सित छलफल गरी मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको छ।

उमेश पटवालले गत वर्ष मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ।

पहिलो पटक खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

क्यानको बैठकले सातै प्रदेशका लागि सात प्रशिक्षक नियुक्त गर्नसमेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ।

यस्तै विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोका रुपमा नियुक्त गर्ने क्यानले निर्णय गरेको छ।

तत्कालका लागि टोलीका सम्बन्धित विषयको समन्वय र व्यवस्थापनको जिम्मेवारीसमेत क्यानले न्यौपानेलाई दिएको छ। मूलपानी क्रिकेट मैदानका लागि सात कर्मचारी थप गर्दै समितिले पोखरा, भैरहवा र वीरगञ्जका लागि एकएक ‘पिच क्युरेटर’ नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताए।

यसैगरी क्यानका केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय गरिएको छ।

उक्त समितिमा प्रदेश समितिमार्फत अन्य सदस्य थप गरिने छन्। आगामी भदौ १५ गतेभित्र क्यानको वार्षिक साधारणसभा सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट