चेपाङलाई निर्मम ढंगले निष्कासन गर्ने कार्य निन्दनीय : एम्नेस्टी-Sutra News

चेपाङलाई निर्मम ढंगले निष्कासन गर्ने कार्य निन्दनीय : एम्नेस्टी

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं– लामो समयदेखि बसोबास गर्दै आइरहेका चेपाङ जातिका आदिवासीहरूको घर सरकारी अधिकारीहरुबाटै ध्वस्त भएको भन्दै एम्नेस्टी इन्टरनेसनलले आपत्ति जनाएको छ।



‘नेपालका अधिकारीहरूले चेपाङ जातिका आदिवासीहरूलाई उनीहरूको वासस्थानबाट निष्कासन गर्ने कार्य तत्काल बन्द गर्नुपर्छ र उनीहरूको दशवटा घरलाई ध्वस्त पारिएको घटनामा जिम्मेवारहरूलाई जवाफदेही बनाउनुपर्छ,’  एम्नेस्टी इन्टरनेसनलले मंगलबार विज्ञप्ति निकालेर भनेको छ।

शनिबार युनेस्को विश्व सम्पदा क्षेत्रको रूपमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रमा २०५३ सालदेखि बसोवास गर्दै आइरहेका चेपाङ जातिका दुई वटा घरमा आगो लगाउनुका साथै निकुञ्जको हात्ती प्रयोग गरी अन्य आठ वटा घर ध्वस्त पारिदिएका थिए।

‘आफ्नो आवासबाट जबरजस्ती कसैलाई हटाउनु क्रूरतापूर्ण कार्य हो,’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने, ‘पहिल्यैदेखि अति सीमान्तकृत उक्त समुदायका सदस्यहरूको जीवन नै जोखिममा पार्ने गरी आगजनीका साथै हात्तीद्वारा समेत आक्रमण गराउँदै उनीहरूको आवास ध्वस्त पार्ने तथा उनीहरूको स्वामित्वमा रहेका निजी सरसामानहरूसमेत नष्ट पार्ने कार्य अत्यन्तै अविवेकपूर्ण हुनुका साथै मानवअधिकारको उल्लङ्घन हो।’

चेपाङ समुदायका मानिसहरूलाई संरक्षण गर्नुपर्ने र उनीहरूलाई आफ्नो आवासबाट निष्कासन गर्ने अन्य कुनै पनि प्रयासहरूलाई तत्काल रोकिनुपर्ने माग एम्नेस्टीले गरेको छ।

आफ्नो घर गुमाएका चेपाङ समुदायका सदस्यहरू अहिले नजिकैको स्कुलको होस्टलमा अस्थायी रूपमा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट