तीजमा ब्रत नबसौँ भन्दै गीत गाएकी सोफिया भन्छिन्, ‘पुरुषहरुबाटै धम्की आइरहेका छन्’-Sutra News

तीजमा ब्रत नबसौँ भन्दै गीत गाएकी सोफिया भन्छिन्, ‘पुरुषहरुबाटै धम्की आइरहेका छन्’

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं-  ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत गाउँदा गायिका सोफिया थापालाई धम्की आएको छ। तत्काल गीत नहटाए जे पनि गर्नसक्ने भन्दै हिन्दू धार्मिक संगठनका नाममा लगातार फोनमार्फत् धम्की आइरहेको गायिका सोफियाले बताइन्।



‘हिन्दू जागरण र विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत संस्थाका नाममा लगातार विभिन्न नम्बरबाट धम्की आइरहेको छ,’ सोफियाले भनिन्, ‘आज बेलुकासम्म गीत नहटाए भोलिदेखि हामी कानुनी बाटोमा जान्छौँ, जे पनि गर्न सक्छौं भन्दै धम्की दिइरहेका छन्। म आफैँ हिन्दू धर्म मान्ने महिला हो। एउटी महिला जसरी बाध्यात्मक हिसाबले ब्रत बस्ने चलन छ, त्यो तोडिनुपर्छ भन्ने मेरो गीतको आश्य हो। हो, मान्छेको एउटा निहित स्वतन्त्रता रहन्छ। तर धर्म संस्कृतिको नाममा यस्तो बाध्यात्मकता किन? यही नै मेरो प्रश्न हो।’

सोफियाले बिहान-बिहानै हिन्दू धर्मको संरक्षक भन्दै आएको एक व्यक्तिसँगको फोन कल फेसबुकमै सार्वजनिक गरेकी छन्। ती व्यक्तिसँग सोफियाका श्रीमान् फिल्म निर्देशक मनोज पण्डितले सम्वाद गरेका छन्।

fb post gaali.jpg

फोन कलमा ‘मुस्लिमहरु १ महिनासम्म ब्रत बस्छन्, तर हिन्दू धर्ममाथि नै किन आघात पुर्‍याएको’ भन्दै गीत हटाउन दबाब दिइएको छ। गीत नहटाए सोफियाका सम्पूर्ण परिवारमाथि सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी गर्ने, मुद्दा हाल्नेजस्ता धम्की दिइएको छ।

‘अहिले जति पनि फोनमार्फत् धम्की आइरहेका छन्, ती पुरुषले गरेका छन्,’ सोफियाले भनिन्, ‘पुरुषहरु महिलाको निहित स्वतन्त्रताका कुरामा किन ठूलो आवाजमा कराइरहेका छन्? संस्कृतिको नाममा ब्रत बस्नुपर्छ भनेर किन पुरुषहरु नै उफ्रिरहेका छन्, म चकित छु।’

गीतलाई युट्युबबाट हटाउन हाइलाइट्स नेपाललाई समेत फोनमार्फत् दबाब आइरहेको सोफियाले बताइन्। सोफियाका अनुसार हिन्दू जागरण नेपालका रामकृष्ण उपाध्यायलगायत आधा दर्जनजति फोनबाट आइतबारदेखि नै धम्की आइरहेको छ।

धम्की आएका फोन नम्बर र फोन रेकर्ड आफूसँग सुरक्षित रहेको उनले बताइन्। ‘सामाजिक सञ्जालमा समेत भद्दा गाली आइरहेका छन्, मैले यो गीत गाएर त्यस्तो अपराध गरेजस्तो लाग्दैन। तर अभिव्यक्ति स्वतन्त्रतामाथि यस्तो हस्तक्षेप किन?,’ उनको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट