पहिरोले घर बगाउँदा तीनको मृत्यु-Sutra News

पहिरोले घर बगाउँदा तीनको मृत्यु

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं- त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए।



रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले टेलिफोनबाट जानकारी दिए।

एउटा मात्र घर बगाएको र बाँकी पाँच घर जोखिममा रहेकाले उनीहरुलाई राति नै अन्यत्र सारिएको छ। लगातारको वर्षाका कारण घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन्।

फुल्पिङकट्टी पहिरोबाट बेपत्ताको खोजी

चौतारा– लगातारको वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी विस्थापित तथा मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत सामग्री वितरण गरिएको छ। बाढी र पहिरोबाट बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका मृतकका आफन्तलाई जनही रु एक लाख र क्षति भएका घरपरिवारलाई रु १० हजारसहित त्रिपाल, कम्बल, भाँडाकुँडा, लत्ताकपडालगायतका राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

असार २४ गतेदेखि साउन १ गतेसम्म बाढी र पहिरोमा परेर ती दुई गाउँपालिकाका मात्र छ जनाको मृत्यु भइसकेको थियो भने २२ बेपत्ता भएका थिए।

बेपत्ताको खोजीकार्य जारी रहे पनि अझैसम्म शव भेटिएको छैन। त्यस्तै मेलम्ची खानेपानीको सुरुङमा पानी हाल्ने क्रममा ढोका फुटेर एक जनाको मृत्यु र दुई घाइते भएका थिए।

साउन १ गते फुल्पिङकट्टी–४ मा पहिरोमा परी एकै परिवारका पाँचमध्ये तीन जनाको शव फेला परे पनि बेपत्ता दुई अझै भेटिएका छैनन्। खोजीकार्य जारी रहे पनि लगातारको वर्षा र पहिरो झर्ने क्रम नरोकिएपछि समस्या उत्पन्न भएको छ।

त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी गरेको र मानवशक्तिबाट सम्भव नभएपछि दुई दिनदेखि स्काभेटर प्रयोग गरिएको थियो। पुरानो स्काभेटर भएको र लेदो माटो झरिनैरहेको हुँदा त्यसलाई फर्काइ पुनः अर्को स्काभेटर ल्याई काम सुरु गरिने वडा नं ४ का वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए।

सुनकोशी किनारमा बस्नेलाई सर्न आग्रह

सिन्धुली– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी आसपासमा बासोबास गर्ने नागरिकलाई सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ।

केरुङ च्छो नामको पोखरी फुट्नसक्ने खतरालाई मध्यनजर गर्दै सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा बासोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको हो।

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई पोखरी फुट्न सक्ने र भोटेकोशी हुँदै सुनकोशी नदीमा अहिले भइरहेको भन्दा ६० मिटरमाथि पानीको बहाब बढ्ने खतरा रहेकाले नदी किनारमा बस्ने नागरिकलाई सर्न र आसपासका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानलेले जानकारी दिए।

उनका अनुसार स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक, स्थानीय सञ्चारमाध्यममार्फत जोखिममा पर्न सक्ने बासिन्दालाई सार्न र सतर्कता अपनाउन आग्रह गरिएको छ।

सार्नैैपर्ने क्षेत्रका बासिन्दालाई अन्यन्त्र सार्न स्थानीय तह र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए। उक्त पोखरी फुट्दा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न र सार्नैपर्ने परिवारको सङ्ख्या सङ्कलन तथा आवश्यक व्यवस्थापनका गर्न लागिपरेको उहाँको भनाइ छ।

बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे

मुग्लिन– चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ। आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो।

पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानकारी दिए।

-रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट