देशभरि बाढी-पहिरोको वितण्डा, नारायणी र कोशीको बहाब खतराभन्दा माथि-Sutra News

देशभरि बाढी-पहिरोको वितण्डा, नारायणी र कोशीको बहाब खतराभन्दा माथि

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं- दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ।



ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ। अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ। ठाउँठाउँमा डुबान सुरु भइसकेको छ।

बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो। बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ।

यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ। नदीको बहाब अझै बढ्दो क्रममा रहेको छ।

नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोखरेलले जानकारी दिए।

मकवानपुरको मापन केन्द्रअनुसार पूर्वी राप्ती (मकवानपुर र चितवन हुँदै बग्ने) नदीसमेत बढिरहेकाले सतर्कता तह नजिक पुगेको छ।

आज उक्त नदी खतरातहसम्म पुग्ने अनुमान गरिएको छ। यसले प्रत्यक्षरूपमा चितवनको सौराहा र आसपास क्षेत्र डुबानमा पार्न सक्ने छ।

पूर्वी राप्ती ३ दशमलव ३० मिटर सतर्कता तह पार गरी ३ दशमलव ३६ मिटर पुगेको छ। यो नदीको बहाव ३ दशमलव ७० मिटर खतराको तह हो।

यस्तै चितवनको माडीस्थित रिऊ नदी पनि बढ्ने क्रममा रहेकाले आज खतराको आसापास पुग्नसक्ने अनुमान गरिएको छ।

उपत्यकाबाट वाग्मती र सहायक नदी तटीय क्षेत्रसमेत उच्च जोखिममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका आसपासका सहायक नदीमा बहाव बढ्दो रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

तिनाउ खतराको आसपास पुग्ने, कर्णाली र महाकालीमा समेत बहाब बढ्नेछ।

आज बिरिङ, बक्राहा, निन्दा, लोहन्द्रा, चिसाङखोला, त्रियुगा, खाडो, चुरियाखोला, लालबकैया, बाणगङ्गालगायत प्रदेश नं १, २ र ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बग्ने प्राय नदीमा बहाब बढ्ने र सतर्कता तहसम्म पुग्ने तथा केही नदी खतरा तहसम्म पुग्ने जनाइएको छ।

आज प्रदेश नं १ को केही जिल्ला, प्रदेश नं २ का सबै जिल्ला, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको छ।

साउन ७ गते भने कोशी, नारायणीमा बाढीको बहाब घट्ने र सतर्कता तह आसपास रहने जनाइएको छ तर कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतका नदीमा भने बहाब बढ्नेछ।

केहीमा आकस्मिकरूपमा बहाब बढी खतराको तहसम्म पुग्नेछ।

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने
पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ।

सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ। बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ।

‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ,’ उनले भने।

sadak.jpg

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए। यसका लागि नुवाकोटबाट जाली मगाइएको छ। बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ।

बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए। स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए।

‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन। काम थालेपछि दुई दिन हामीलाई लाग्छ,’ उनले भने। 

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन। डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन सुरु गरिनेछ।

काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए।

बाढीले बगायो सडक, पुल र मन्दिर
भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ। अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए।

बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ। रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो।

घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो। रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ।

Dhunga.jpg

मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्स्ट्रक्शनको एक एक्साभेटर (डोजर) र पार्किङ गरेर राखिएको बस बगाएको छ। दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्सेखोलामा ठूलो बाढी आएको थियो।

कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ। दानाका स्थानीयवासी जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ। रुप्से ब्लक उद्योग पनि बगाएको छ। दानामा निर्माणाधीन २२० केभी क्षमताको विद्युत् सवस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ।

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिए। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताए। ‘दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ,’ उनले भने।

राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट