पहिरोले घर पुरिँदा दाजुभाइको मृत्यु, तीन जना घाइते-Sutra News

पहिरोले घर पुरिँदा दाजुभाइको मृत्यु, तीन जना घाइते

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

दार्चुला- मालिकार्जुन गाउँपालिका-८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।



घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए। उनीहरुको घरभित्रबाट शव निकालिएको छ।

सोही घटनामा परी घरधनी ३५ वर्षीया लक्ष्मी ढोली, नौ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए। घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो। पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजुभाइ हुन्। उनीहरु गौरापर्वको लागि लुगा सिउन शङ्करपुर पस्ती आएका हुन्।

घाइतेको अहिले शङ्करपुर स्वास्थ्यचौकी पस्तीमा उपचार भइरहेको छ। यस्तै पहिरोले सुविरसिंह धामी र हरसिं धामीको पसलमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट