आजदेखि साझा बस सञ्चालनमा, विभिन्‍न रुटमा २६ बस चल्दै-Sutra News

आजदेखि साझा बस सञ्चालनमा, विभिन्‍न रुटमा २६ बस चल्दै

बिहिबार, १ साउन २०७७

बिहिबार, १ साउन २०७७

काठमाडौं- साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा बस सेवा सुरु गरेको छ। सरकारले तोकेको सुरक्षा मापदण्डको पालना गर्दै साझाले काठमाडौं उपत्यकामा २६ वटा बस सञ्चालनमा ल्याएको हो।



साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेयले विभिन्न रुटमा २६ वटा बस सञ्चालनमा ल्याएको बताए। ‘स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सरकारले तोकेको मापदण्डअनुसार हामीले पहिले अनुमति पाएकै आठ वटा रुटमा सेवा सुरु गरेका छौं,’ उनले भने।

यात्रुको चाप बढेपछि आवश्यकता अनुसार बस संख्या थप्दै जाने उनले बताए। साझाले लगनखेलबाट नयाँ बसपार्कका साथै सूर्यविनायक, थानकोट, लुभु लामाटार, बुङमती, बालाजुका रुटमा बस सेवा सञ्चालनमा ल्याएको हो।

यात्रु सुरक्षालाई ध्यानमा राख्दै कुल सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर सञ्चालनमा ल्याएकाले साझाले सरकारले तोकेअनुसार ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको जनाएको छ।

बस सञ्चालनमा ल्याउनुअघि पूरै निस्संक्रमित पारिएको छ भने चालक र सहचालकले मास्क, फेससिल्ड, पन्जा लगाएका छन् । साझाले यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, स्यानिटाइजर बोक्न, व्यक्तिगत दूरी कायम गरेर बस्न र भाडाको लागि खुद्रा पैसा बोक्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट