सौगात र सृष्टिको ‘प्याचअप’ !-Sutra News

सौगात र सृष्टिको ‘प्याचअप’ !

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौ‌ं । पछिल्लो समय आफ्ना फिल्महरूका कारण चर्चामा रहेका सौगात प्रेमले गरेर पनि चर्चामै रहे । नायिका तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगको प्रेमको कारण लामो समयसम्म चर्चामा रहेका उनी ‘ब्रेकअप’पछि सृष्टिलाई नै माया गर्ने बताउँछन् ।



ब्रेकअप हुँदैमा प्रेम सकिँदैन र म सृष्टिलाई सधैँ माया गर्छु भन्ने उनको कुरा सुन्दा धेरै दर्शकहरूले उनीहरूको फेरि मिलन होस भन्ने चाहाना पनि राखे । र अब नभन्दै दर्शकहरूको इच्छा पूरा भएको छ । उनीहरूको अब मिलन भएको छ ।

करिब पाँच वर्षसम्म प्रेममा रहेर ब्रेकअप भएका उनीहरूको अब मिलन भएको छ । उनीहरू प्रेममा हुँदा त्यसबेला लिभिङ टुगेदरमा बस्दै आएका हल्ला पनि चलेको थियो । विवाहको योजनासमेत बनाएका उनीहरूले लगातार पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘द सेक्रेट अफ राधा’, ‘द रेड सुटकेस’ जस्ता फिल्ममा सँगै काम गरेका थिए ।

तर, २०७९ सालमा उनीहरूले प्रेम सम्बन्धलाई टुङ्ग्याउने निर्णय गरेसँगै अब यी दुईले सँगै काम गर्न असम्भव जस्तै देखिएको थियो । सँगै काम गर्न त परै जावोस् उनीहरू आमने सामने आउँदा पनि एकअर्कालाई नदेखे जस्तो गर्थे । एकअर्कासँग बोलचाल बन्द गरेका उनीहरूको अघिल्लो वर्ष इटालीको ‘भेनिस फिल्म फेस्टिभल’मा ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियरमा दुवै आमने सामने भए । यस क्रममा उनीहरूबीच बोलचाल र हेराहेर भएको थिएन ।

यस्तैमा अब यी दुईलाई फेरि एकै साथ फिल्ममा नदेखिएला भन्ने धेरैको सोचाइ थियो । तर सबैको सोचाइलाई गलत साबित गर्दै उनीहरू एकैसाथ भाइरल गोर्खेमा काम गर्ने निर्णय गरे । यस फिल्ममा उनीहरू एकअर्काको जोडीका रूपमा देखिए ।

गत वैशाखदेखि लमजुङस्थित भुजुङ गाउँमा फिल्मको छायांकन भइरहेको थियो । त्यहाँको सेड्युल सकिन करिब एक हप्ता बाँकी रहँदा सृष्टि पुगेकी थिइन् । भुजुङको सेड्युल सकिएपछि सृष्टिले मंगलबार इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छन् । जहाँ उनको छेवैमा आएर सौगात उभिएका छन् ।

भिडियोमा दुवै एकअर्कासँग सहज देखिन्छन् । उनीहरू एक अर्कासँग सहज देख्दा उनीहरूका फ्यानहरू पनि निकै खुसी भएका छन् । यसरी भाइरल गोर्खेले उनीहरूको भौतिक दुरीलाई घटाउँदै मिलन गराएको छ । अब उनीहरूको दिलको दुरी चाहिँ घट्छ घट्दैन ? यो हेर्न बाँकी नै छ ।

फिल्ममा सौगात र सृष्टिले सहज रूपमा काम गरेको निर्देशक निगम श्रेष्ठले बताए । उनले भने, ‘उहाँहरूलाई एकसाथ काम गराउन गाह्रो भएन । त्यहाँ उहाँहरूको व्यक्तिगत कुराले त्यस्तो केही पनि समस्या आएन । सेटमा उहाँहरूले असहज महसुस गरेको पनि देखिनँ । मिलेरै र सहज रूपमा नै काम गर्नुभएको थियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट