‘क्रस’सँग अनस्क्रिनमा जोडिँदा डराएकी अञ्जना !-Sutra News

‘क्रस’सँग अनस्क्रिनमा जोडिँदा डराएकी अञ्जना !

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडाैं । अभिनेत्री अञ्जना बराइली पहिलो फिल्म ‘महापुरुष’पछि दोस्रो फिल्म ‘पुजार सार्की’मार्फत भोलि १० गतेबाट दर्शकमाझ आउँदै छिन् । ‘महापुरुष’बाट डेब्यू गरेर पहिलो फिल्ममै सफलता पाएकी उनी फेरि उही बाटो दोहोर्याउन चाहन्छिन् ।



पहिलो फिल्म हिट भएर चर्चामा भए पनि गुमनाम बनेकी अञ्जना संर्घष गरिरहेकी छन् । यो फिल्मबाट उनको आगामी बाटो के कस्तो हुने ? त्यो पनि मूल्यांकन हुने स्थिति छ । सोही हिसाबले उनी यो फिल्म चलोस् भन्ने ठूलो आशाको भारी बोकेकी छन् । उनी ‘पुजार सार्की’मा स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी छन् ।

फिल्ममा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल छन्। आर्यन उनको सानै देखिको ‘क्रस’ हुन् । आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा उत्तिकै डर भएको अञ्जना बताउँछिन् ।

उनी भन्छिन्, ‘मैले धेरै फिल्ममा काम गरेको छैन । त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ । अझ मेरो जोडी म भन्दा अग्रज हुनुहुन्छ। आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो। मैले धेरै पटक रिटेक खाँदा पनि उहाँ कहिल्यै रिसाउनुभएन। ‘यस्तै हुन्छ’ भनेर ढाडस दिनुहुन्थ्यो । सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने कल्पना समेत थिएन ।’

‘पुजार सार्की’मा आफ्नो चरित्रबारे अञ्जना भन्छिन्, समाजले ठुलो जात भन्ने गरेको अर्थात् ब्राह्मणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ । ‘त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ । म समाजबाट दबिएको पीडित, त्यसमाथि पूजारसँगको सम्बन्धका कारण समाजले बहिस्कार गरेपछि झन् पीडित चरित्रमा छु। सानो जात हुँदाहुँदै पनि प्रेम सम्बन्धले झन् बढी दबिएको र छोरी मान्छे भइसके पछि के कति कुरा फेस गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ ।’

अञ्जनालाई वर्कसपको बेला स्क्रिप्ट पढेदेखि नै आफ्नो चरित्र किन यसरी दबिएको भन्ने चिन्ता परेको थियो। त्यही भएर उनले लेखक विकास सुवेदीलाई बारम्बार यही प्रश्न गरिरहन्थिन्। फिल्मको चरित्र भन्दा पनि अञ्जना भएर हेर्दा उनलाई ‘मलाई किन यस्तो भूमिका दिइयो ?’ भन्ने मनमा लाग्थ्यो, हल्का रिस पनि उठेको थियो।

‘त्यो पात्रले बोल्नुपर्ने ठाउँमा बोल्दैन। अति भइसकेपछि जो पनि बोल्छ नि त। म विकास लेखकलाई भनिरहन्थेँ। ‘यस्तो किन यहाँ भयो, यति हुँदा त जो पनि बोल्छ नि त। धेरै पोल्यो भने आत्था त भन्ला नि त’ भनेर सोधिरहन्थेँ। त्यही भएर पनि मेरो पात्रले सम्बन्ध निभाउनका लागि आफूभन्दा ठुलो जात भनिएको मान्छेसँग गरेको सङ्घर्ष एकदमै गाह्रो थियो। मैले बुझ्दा र त्यो पात्र अनुभव गरिरहँदा मलाई निकै गाह्रो भएको थियो’, अञ्जनाले सुनाइन्।

अञ्जनाले यो फिल्ममा काम गर्नुभन्दा अघि जातीय विभेदका घटनाबारे नसुनेकी भने होइनन्। तर, किन यस्ता घटना हुन्छन् भन्ने कुरा स्क्रिप्ट पढेपछि र वर्कसपमा बसेपछि मात्र थाहा पाइन्। ‘स्क्रिप्ट पढ्दै जाँदा र स्क्रिप्ट अनुसार दृश्य बनाइरहँदा यहाँ पुगेर यतिको हिंसा हुने रहेछ भन्ने थाहा पाएँ। स्क्रिप्टले यो सबै सहजै बुझाउँथ्यो। स्क्रिप्ट पढिसक्दा यहाँ हिंसाको अवस्था यसरी हुँदो रहेछ भन्ने थाहा भयो,’ उनले भनिन् ।

अञ्जना फिल्म ‘महापुरुष’ हेरेका दर्शकले आफूलाई ‘पुजार सार्की’मा अझ बढी माया गर्नेमा ढुक्क छिन् । ‘महापुरुषमा म नयाँ मान्छे भएकाले ‘नराम्रो काम गरी’ भनेर कसैले भन्नुभएको थिएन। सिनियर कलाकारको भीडमा आफूले राम्रो काम गरेको भन्ने तारिफ पाएको थिएँ। अञ्जनाले अवसर पायो भने काम गरेर देखाउँछिन् भन्ने कुरालाई मैले ‘पुजार सार्की’मा आफूलाई प्रमाणित गरेकी छु। मेरो हकमा महापुरुष र पुजार सार्कीको मेरो पात्र फरक पात्र हुन्। फरक परिवेश, फरक चरित्रका कारण पनि दर्शकले मलाई माया गर्नुहुनेछ भन्नेमा विश्वस्त छु,’ उनी भन्छिन् ।

दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायतको पनि प्रमुख अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट