नेप्सेमा तिव्र उथलपुथल : २१ सयको बिन्दुलाई छोएर फर्कियो नेप्से-Sutra News

नेप्सेमा तिव्र उथलपुथल : २१ सयको बिन्दुलाई छोएर फर्कियो नेप्से

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार परिसूचक (नेप्से) उत्साहपूर्ण रुपमा बढेको छ । सोमबार २७.५४ अंकले बढ्दै बजार २०९२ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार १.३३ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



सोमबार दिउँसो नेप्से २१ सयको बिन्दुमाथि उक्लिएको थियो । कारोबारको डेढ घण्टामै मध्यान्ह साढे १२ बजेसम्म नेप्से २१२१ को बिन्दुसम्म पुगेको थियो । तर, त्यसयता बजार निरन्तर ओरालोमा देखियो ।

यद्यपि, समग्रमा बजार बढेर नै बन्द हुन पुग्यो ।

यस दिन कारोबारमा आएका २४६ कम्पनीमध्ये १३४ कम्पनीको मूल्य बढ्यो भने १०७ कम्पनीको मूल्य घटेको स्टक एक्सचेन्जले जनाएको छ ।
तीन वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा तीन वटा कम्पनीको मूल्य सर्किट तहमै बृद्धि भएको छ ।

यस दिन सर्वाधिक बैकिङ्ग क्षेत्रमा उत्साह छाएको छ । समग्रमा १.३३ प्रतिशतले उक्लिएको बजारमा बैकिङ्ग क्षेत्रमा ४.१८ प्रतिशतले बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

उत्साहपूर्णरुपमा बृद्धि भएको नेप्सेमा कारोबार रकम पनि उत्साहपूर्णरुपमै बृद्धि भएको छ । लामो समयपछि नेप्सेमा झण्डै छ अर्बको नजिक कारोबार भएको छ ।

स्टक एक्सचेन्जले जनाएअनुसार सोमबार एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको भयो ।

यस दिन सर्वाधिक पोखरा फाइनान्स, सिइडिबी हाइड्रो, फस्ट माइक्रो फाइनान्सलगायतको कारोबार उच्च रह्यो । पोखरा फाइनान्सको मात्रै दुई लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १९ करोड ९२ लाख ९९ हजार रुपैयाँ बराबरको भएको स्टक एक्सचेन्जले जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै गर्दा बजार बढ्न सुरु गरेको थियो । जुन प्रभाव कायमै देखिन्छ ।

यद्यपि, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा उत्साहपूर्ण बढेको बजार विश्वासको मत पाएसँगै भने क्रमशः घट्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट