

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले मन पराइरहेका छन् । लगातार हिट फिल्म दिएर सफलताको ह्याट्रिक हानेका उनीहरू अभिनित फिल्म ‘मनसरा’ वैशाखको २१ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।
जसको सार्वजनिक ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । यस्तोमा फिल्मले बक्स अफिसमा तहल्का नगर्ला भन्न सँकिन्दैन । रिल जोडीका रुपमा दया र मिरुना हुनु पर्छ भन्ने धेरै दर्शकको माग छ । जुन मागलाई पूरा गर्दै मेकरहरूले पनि यो जोडीसँग धमाधम फिल्म बनाइरहेका छन् ।
यस्तोमा उनीहरू अभिनित फिल्मको ट्रेलर, टिरज जस्ता सामाग्री बेला मौकामा सार्वजनिक भइरहेको छ । यही क्रममा उनीहरु अभिनित फिल्म ‘घर ज्वाइँ’को पनि फस्टलुक रिलिज गरिएको छ ।
यस फिल्ममा दया र मिरुनालाई भारी बोकिरहेको अवस्थामा देख्न सकिन्छ । यो अवस्थामा उनीहरू कति खुसी छन् ? भन्ने कुरा मुस्कानबाटै देख्न सकिन्छ । यसरी पहिलो पोस्टरमा दया र मिरुनालाई आफ्नो संसारमा निकै खुसी देखाइएको छ भने सार्वजनिक दोस्रो पोस्टरमा सबै कलाकारलाई समेटिएको छ ।
अनिल बुढा मगरको लेखन तथा निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको यो फिल्मको पटकथा, संवाद लेखनमा अनिललाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।
दया र मिरुना मुख्य भूमिकामा रहेको फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्ग बहादुर पुन, राज थापा, कविता आले, शिला आलेलगायतको अभिनय छ ।
जीएम मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ भने कृष्ण भण्डारीको सम्पादन रहेको छ ।