गठबन्धनभित्र बढ्दै किचलो-Sutra News

गठबन्धनभित्र बढ्दै किचलो

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । सोमबार नरबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभा’को मञ्च विशेषगरी सत्ता गठबन्धनभित्रको तुस पोख्ने थलो बन्यो । मञ्चलाई प्रयोग गरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्रको तुस मात्रै पोखेनन्, गठबन्धन भत्किँदै गरेको सन्देश पनि दिए ।



कांग्रेससँगको समीकरण फेर्दै एमालेसँग बनेको समीकरणप्रति असन्तुष्टि जनाएका अध्यक्ष नेपालले गठबन्धनको भविष्य लामो नभएको संकेत गरेका छन् । “परिस्थिति जटिल छ, गठबन्धन कहिले ओल्टो, कहिले पोल्टो भइरहेको छ, यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन”, अध्यक्ष नेपालले भनेका छन् ।

एकीकृत समाजवादीलाई सरकारमा रहन असहज बनिरहेको भनाई अध्यक्ष नेपालले राखेका छन् । विशेषगरी एमाले र माओवादी केन्द्रबाट भइरहेको व्यवहारप्रति पनि उनले असन्तुष्टि पोखेका छन् ।

“हामीले सहज मानिरहेका छैनौं, सहज अवस्था अनुभूत गरिरहेका छैनौं”, अध्यक्ष नेपालले भनेका छन्, “हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं, दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।”

अध्यक्ष नेपालले ‘नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभा’को मञ्चलाई गठबन्धनभित्रको असन्तुष्टि पोख्ने थलो बनाउँदा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने विवाद थामथुम पार्ने प्रयत्न गरे । उनले वामपन्थी शक्ति मिलेर जानुको विकल्प नरहेको भन्दै बरु अध्यक्ष नेपाललाई बाम आन्दोलनलाई एक बनाउन अघि बढ्न आग्रह गरे ।

“चुनौतिको सामना गर्दै अगाडि बढ्नु वर्ग संघर्षको नियम हो, विगतमा जे–जे भयो त्यसबाट पाठ सिक्दै अगाडि जानुपर्छ, २०७४ को वाम एकतालाई जोगाउन सकेनौ, हामी फेरि एकताको खोजी गर्नैपर्छ”, प्रचण्डले भनेका छन् ।

सत्ता गठबन्धनबारे अध्यक्ष नेपालले उठाएका प्रश्नभित्र प्रचण्ड छिर्न नखोजेपनि गठबन्धनभित्र किचलो बढ्दो क्रममा रहेकोलाई अस्वीकार गर्न मिल्दैन । जुन विभिन्न प्रदेश तहका घटनाबाट पनि छरप्रष्ट बनिरहेको छ ।

शनिबार मात्रै लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । प्रदेश सरकारबाट बाहिरिँदै गर्दा जसपाले गठबन्धनको भविष्यबारे प्रश्न उठाएको छ । जसपाले निरन्तरको पेलाईको जवाफ लुम्बिनीमा दिएको प्रतिक्रिया दिएको छ ।

जसपा र एकीकृत समाजवादीले सुरुवातदेखि नै समान हैसियतको माग गठबन्धनभित्र राख्दै छन् । प्रधानमन्त्रीमा आलोपालोदेखि विभिन्न शक्ति बाँडफाँट समान हिसाबले हुनुपर्ने अडान दुई दलको छ ।

तर, सत्ता गठबन्धनका मुख्य नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र भने उक्त मागमा सहमत छैनन् । एमाले र माओवादी केन्द्र सहमत नभइरहँदा प्रदेश तहबाट दुई दलले असहयोगको नीति लिएका छन् ।

अर्कोतर्फ, भागवण्डालाई लिएर जसपा र एकीकृत समाजवादीले असन्तुष्टि जनाइरहँदा सत्ताको अर्को साझेदार दल रास्वपा सहकारी प्रकरणले घेरिएको छ । सहकारी प्रकरणले घेरिएको रास्वपाले साझेदार सहयोग नगरेमा सरकार छाड्ने चेतावनी दिइरहेको छ । तर, सत्ता साझेदारभित्रैबाट रास्वपालाई असहयोग गर्ने कोणबाट अभिव्यक्ति आइरहेका छन् ।

यदि विवाद यसरी नै बढ्दै गएमा वर्तमान सरकार रहिरहला भन्न सकिन्न । किनभने अहिले नेपाली कांग्रेस वैकल्पिक गठबन्धन निर्माणमा बल लगाएर अघि सरेको छ । जसमा अहिलेकै केही सत्ता साझेदार पनि छलफलमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट