ओलीकाे प्रतिवेदन सार्वजनिक भएपछि प्रचण्डले भने– अहिले वाम एकता भन्नु सही हुन्न-Sutra News

ओलीकाे प्रतिवेदन सार्वजनिक भएपछि प्रचण्डले भने– अहिले वाम एकता भन्नु सही हुन्न

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल वाम एकता सम्भव नभएको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सत्तासमीकरणलाई पनि वामपन्थीहरूको मात्रै भएको भनेर बुझ्न नहुने बताए ।



“वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन”, प्रचण्डले भनेका छन् ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको विषय व्यर्थ भएको भन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ओलीको उक्त प्रतिवेदनपछि पहिलो पटक सार्वजनिक सञ्चार माध्यममार्फत प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता समीकरणभित्र समस्या नरहेको पनि दाबी गरेका छन् । एकीकृत समाजवादी र जसपाले असन्तुष्टि व्यक्त गरिरहेको चर्चाका बीच प्रचण्डले यस्तो दाबी गरेका हुन् । सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, “राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन ।”

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको प्रधानमन्त्री प्रचण्डले बताए । नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको उनले जानकारी दिए।

पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताए। साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे।

“लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवर्द्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ”, उनले भने, “लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट