लुम्बिनीमा फेरि अर्को किचलो, जसपाले फिर्ता बोलायो मन्त्री-Sutra News

लुम्बिनीमा फेरि अर्को किचलो, जसपाले फिर्ता बोलायो मन्त्री

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

काठमाडौं । पूर्वसहमतिअनुसार मन्त्रालय नदिएको भन्दै लुम्बिनीमा जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ । फिर्ता बोलाउने निर्णयसँगै सरकारमा गएका जसपाका भण्डारीलाल अहिरले राजीनामा बुझाएका छन् । अहिर लुम्बिनी सरकारमा कृषिमन्त्रीको जिम्मेवारीमा थिए ।



जोखबहादुर महरा नेतृत्वको सरकार गठनको बेला दलहरुबीच मन्त्रालय भागवण्डामा पनि सहमति बनेको थियो । जसपाका नेताहरुले बताएअनुसार तत्कालिन समय जसपालाई दुई मन्त्रालय दिने सहमति भएको थियो ।

तर, मुख्यमन्त्री महराले दुई मन्त्रालय नदिएपछि जसपा बिच्किएको हो । तीन सांसद भएको जसपाले मन्त्री फिर्ता बोलाए पनि समर्थन भने फिर्ता लिएको छैन । तर, जसपाले जुनसुकै बेला समर्थन पनि फिर्ता लिनसक्ने जनाउ गरेको छ ।

८७ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिँदा मुख्यमन्त्रीको पक्षमा ४८ सांसदको समर्थन देखिएको थियो । एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले महरालाई विश्वासको मत दिएका थिए ।

यदि जसपाले समर्थन फिर्ता लिएको खण्डमा महराको पक्षमा जम्मा ४५ सांसदको मत रहनेछ । महरालाई मत दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि आन्तरिक विवादले विभाजित छ । यस्तोमा चार सांसद भएको नाउपा पनि पक्षमा नउभिएमा महरा नेतृत्वको सरकार ढल्न समय लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट