टेस्लाको चार हजार ट्रक फिर्ता भएपछि मस्कको भारत भ्रमण स्थगित-Sutra News

टेस्लाको चार हजार ट्रक फिर्ता भएपछि मस्कको भारत भ्रमण स्थगित

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनामा छलफल गर्ने कार्यक्रम थियो ।



मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो ।

“दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु”, आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा उनले भने ।

सञ्चार माध्यमले आइतबारदेखि हुने दुई दिवसीय भ्रमणका क्रममा मस्कले मोदी र एयरोस्पेस कम्पनीसँग भेट गर्ने बताएका थिए । गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने स्थानको खोजी गरिरहेको थियो ।

कम्पनीले ५० करोड डलर लगानी गर्ने र तीन वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका आठ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट