चितवनका जनताले प्रचण्डलाई भने- तपाईंले छाडेपछि हाम्रो बिचल्ली भयो-Sutra News

चितवनका जनताले प्रचण्डलाई भने- तपाईंले छाडेपछि हाम्रो बिचल्ली भयो

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । चितवनको माडी नगरपालिकाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । यस क्रममा उनीहरूले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।



सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधि मण्डलले नगरवासीले भोग्नु परेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।

यस क्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराए । उनले भने, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ ।”

लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले थपे, “तपाईं चितवन ३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो, विकासका काम सुरू भएका थिए, अहिले लथालिङ्ग छ, तपाईंले चितवन छाडेपछि माडीको बिचल्ली भयो ।”

गत निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफ्नो चुनावी क्षेत्र छाडेर गोरखा पुगेर निर्वाचिन भएका थिए । उनको स्थानमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विजयी भएका थिए ।

माडीवासीका गुनासा सुनेपछि प्रधानमन्त्री दाहालले सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधानमा गम्भीर भएर लाग्न निर्देशन दिए । उनले भने, “माडीको समस्या समाधानमा वन मन्त्रालय र विद्युत् प्राधिकरण गम्भीर हुनु पर्यो‍ ।”

प्रधानमन्त्री दाहालले यस विषयमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)सँग पनि परामर्श गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट