कांग्रेसको ठहर- गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखको काम आपत्तिजनक-Sutra News

कांग्रेसको ठहर- गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखको काम आपत्तिजनक

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१
पत्रकार सम्मेलन पाटन (ललितपुर), ७ वैशाखः नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महत्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखबाट संविधानको मर्म र भावनाको उलङ्घन भएको बिषयमा शुक्रबार नेका केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः माधवप्रसाद घिमिरे÷रासस

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको ठहर गरेको छ ।



शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप आपत्तिजनक भएको ठहर रहेको बताए ।

उनले प्रदेश प्रमुखहरूबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाए । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको भन्दै उनले गण्डकी प्रदेशसभामा कांग्रेस सहभागी नहुने स्पष्ट पारे ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८(२) बमोजिम संविधानसम्मत् गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखबाट सरकार आह्वान गर्नु असंवैधानिक कदम भएको उनको भनाइ थियो ।

डा. महतले संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट नदिएको जिकीर गरे । उनले सत्ता गठबन्धनको निर्देशनमा प्रदेशमा भएको कामले संघीयताप्रति निराशा पैदा हुने बताए ।

उनले सरकार ढाल्न कांग्रेसले कुनै चलखेल नगर्ने भन्दै अहिलेको अप्राकृतिक गठबन्धन छिट्टै पतन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट