सुदूरपश्चिममा सोडारीलाई समर्थन गर्न एमाले बाध्य, बढ्यो माधवको ‘बार्गेनिङ पावर’-Sutra News

सुदूरपश्चिममा सोडारीलाई समर्थन गर्न एमाले बाध्य, बढ्यो माधवको ‘बार्गेनिङ पावर’

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच बुधबार साँझ भेट भयो । भेटमा दुई नेताले वैकल्पिक गठबन्धन बनाउनेसम्म गृहकार्य अघि बढाएका थिए ।



दुई नेताबीचको भेटसँगै नयाँ गठबन्धन बन्ने विषय आउनु नौलो कुरा होइन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन छाडेर नेकपा एमालेको क्याम्पमा पुग्दा देउवा-नेपालको भेटसँगै वैकल्पिक गठबन्धनको कुरा आएको थियो । तर, दुई नेताको भेटसँगै आएको वैकल्पिक गठबन्धनको कुरा अन्त्य भएको थियो ।

पछिल्लो समय विभिन्न सन्दर्भलाई लिएर सत्ता गठबन्धनभित्र विवाद सिर्जना हुँदै गर्दा सभापति देउवाले देखाएको सक्रियताले महत्वपूर्ण अर्थ राख्न सक्छ । तर, बुधबार साँझ देउवा-नेपालको भेटपछि बन्न लागेको नयाँ राजनीति कोर्स फेरि रोकिएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफूले अगाडि सारेको उम्मेदवार दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले खोट देखाएपछि अध्यक्ष नेपाल कांग्रेसतर्फ ढल्किए । कांग्रेस पनि एकीकृत समाजवादीतर्फ नजिकिए । अन्तमा एमाले लचक बन्दै आफैले खोट देखाएको एकीकृत समाजवादीका उम्मेदवार सोडारीलाई समर्थन गर्न बाध्य भयो ।

सोडारी मुख्यमन्त्री भएसँगै तत्कालका लागि देखिएको सत्ता संकटमा विराम लागेको छ । सोडारी मुख्यमन्त्री बन्दै गर्दा एकीकृत समाजवादी अध्यक्ष नेपाल थप शक्तिशाली बनेको स्पष्ट भएको छ ।

कांग्रेसको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारी गरिरहँदा सोडारीलाई नै मुख्यमन्त्री स्वीकार्न एमाले बाध्य बनेपछि अध्यक्ष नेपालको शक्ति देखिएको हो । उनले एमालेलाई आफ्नो उम्मेदवारी सोडारीलाई मुख्यमन्त्री स्वीकार गर्न बिहीबार दिउँसो २ बजेसम्म ‘अल्टिमेटम’ दिएका थिए ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा सुदूपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावललाई फोन गरेर सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न निर्देशन दिएका थिए ।

सुदूरपश्चिममा मुख्यमन्त्री पाएको नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशमा पनि एक मन्त्री पाएको छ । लुम्बिनीमा आफूले वेवस्था गरेको पदमा मुख्यमन्त्री जोखबहादुर महराले एकीकृत समाजवादीबाट भगवती चौधरीलाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्रीले एमालेका चार र उन्मुक्ति र माओवादीका एक-एक मन्त्री बनाएपछि समाजवादीबाट पनि एक जना मन्त्री थप्न बाध्य भएका हुन् । योसँगै लुम्बिनीको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ ।

सत्ता गठबन्धनमा अध्यक्ष नेपाल शक्तिशाली बन्दै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शक्ति कति ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट