फिल्म ‘फर्की फर्की’को ट्रेलरमा: ‘भगवान् ठान्ने अनमोल’-Sutra News

फिल्म ‘फर्की फर्की’को ट्रेलरमा: ‘भगवान् ठान्ने अनमोल’

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौ । फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको फेन्टासी ड्रामा रहेको फिल्मको ट्रेलरले टाइम ट्राभल (समय यात्रा)को कथा भन्छ ।



जेठको १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलर हेर्दा नायक अनमोल केसी स्टाइलिस रुपमा प्रस्तुत छन् । जसमा उनको चरित्र रिसाहा र सन्की स्वभावको देखिन्छ । यस्तै, म्याडी पात्रले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् ठान्छ ।

उच्च मेकिङ क्वालिटी र दृश्यहरु समावेश ट्रेलरमा अनमोल बोल्नुभन्दा अगाडि उनको मुक्का र लात्ति चल्छ । साथै, ट्रेलर मुख्य पात्रको दैनिक गतिविधि र प्रेम सम्बन्धको कथा वरपर घुम्छ । केही नयाँपन देखिएको फिल्मको ट्रेलरमा अनमोल र नायिका जसिता गुरुङबीचको प्रेम, रोमान्स र सम्बन्धमा आउने उतार-चढावलाई पनि देखाइएको छ । यो फिल्ममा उनीहरुले पहिलोपटक अनस्क्रिन रोमान्स गरेका हुन् ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल र जसिता का अलावा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्ममा नायक सलोन बस्नेतले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् । निर्देशनको हिसाबले गुरुङको यो दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको फिल्ममा मनोज वली र रामु न्यौपाने सह-निर्माता, मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

नेपाली फिल्म क्षेत्रमा फेरि लभ स्टोरीको साथमा नयाँ शैलीको कथा फर्किएको आभाष गराएको फिल्मको पत्रकार सम्मेलनमा बोल्दै नायक अनमोलले यो फिल्मलाई लिएर आफू उत्साहित रहेको बताए । आफ्नो करिअरको १० वर्ष र दशौं फिल्मको रुपमा यो फिल्म आउन लागेको उनले बताए ।

नायिका जसिताले आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताइन् । फिल्ममा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, किरण थापाको कोरियोग्राफी अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट