छक्कापञ्जा ४ को शेयर बाँडफाँडमा लफडा, दीपकराजको टिमले पैसा नदिएको आरोप-Sutra News

छक्कापञ्जा ४ को शेयर बाँडफाँडमा लफडा, दीपकराजको टिमले पैसा नदिएको आरोप

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । फिल्म ‘छक्का पञ्जा ४’को निर्माण कम्पनी आमा सरस्वती मुभिज र निर्देशक हेमराज बिसीबीचको लेन देनको विवाद बाहिरिएको छ ।



करिब ६ महिनादेखि अमेरिकामा रहँदै आएका निर्देशक बिसीले दीपकराज गिरी समूहविरुद्ध काठमाडौं प्रहरीमा इमेलमार्फत् उजुरी दिएपछि फिल्मभित्रको विवाद बाहिरिएको हो । बिसीले छक्का पञ्जा निर्माण टिमविरुद्ध एक महिनाअगाडि अनलाइनमार्फत रिपोर्ट दिएका थिए ।

स्रोतका अनुसार, फिल्ममा हेमराजको २५ प्रतिशत शेयरमा रहेका थिए । तर, शेयरबापतको रकम प्राप्त नभएपछि उनले अमेरिकाबाटै इमेलमार्फत् फिल्मको टिमविरुद्ध प्रहरीमा उजुरी दिएको जनाइएको छ ।

निर्देशक बिसीले स्पष्ट हिसाब नपाएको भन्दै दिएको उक्त रिपोर्टबारे मंगलबार काठमाडौं प्रहरी परिसरले दुवै पक्षलाई उपस्थित गराउँदै प्रहरीले फिल्मको निर्माण टिमलाई बोलाएर सोधपुछ गरेको थियो । उक्त रिर्पोटपछि फिल्मका निर्माता, लेखक तथा अभिनेता दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका थिए ।

उनीहरु मंगलबार काठमाडौं प्रहरी परिसर, टेकुमा कम्पनीका लेखापालसहित पुगेका थिए । त्यस क्रममा दुवै पक्ष उपस्थित भएका थिए । उनीहरुले प्रहरी समक्ष हामी आफैँ मिलाउँछौँ भन्दै निस्किएका थिए । निर्देशक बिसीले प्रहरीमा रिपोर्ट गरे पनि उजुरी भने परेको छैन । छक्कापञ्जा टिमले प्रहरीसमक्ष केही दिनमा हिसाबसहित उपस्थित हुने बताएका छन् । प्रहरीकोमा अब उनीहरु भ्याटबिलसहितको औपचारिक हिसाबसहित पेस हुनु पर्नेछ ।

निर्देशक बिसीले पटकपटक आफूले औपचारिक हिसाब माग्दा नपाएपछि रिपोर्ट दिन बाध्य भएको बताउँछन् । उनले भनेका छन्, ‘मैले पटकपटक हिसाब मागेँ, उहाँहरुले आउनुस् लिएर जानुस् भन्नु भयो, म अमेरिका भएकाले मेलमा हिसाब मागेँ, तर पाइनँ ।’

श्रोतका अनुसार हेमराजले पाउनु पर्नेभन्दा कम पैसा पाएका छन् । तर, निर्देशकको शेयर लगभग १२ प्रतिशत हुनु आउने तर त्योभन्दा धेरै पैसा लिएर गएको दाबी गर्दै हेमराजले आफूहरुबाट ६५ लाख रुपैयाँ लगेको दीपकराजको भनाइ छ ।

दीपकराजले भनेका छन्, ‘उहाँले २५ प्रतिशत होइन, १० र १५ प्रतिशतको बीचमा शेयर पाउने सहमति रहेको थियो, उहाँलाई त्यही १२ प्रतिशत हुन आउँछ, र हामीबाट उहाँले ६५ लाख लग्नु भएको छ, शेयरको आधारमा उहाँले हामीबाट धेरै पैसा लग्नु भएको छ, त्यो पनि आधी फिल्म मात्र निर्देशन गरेर, उहाँले फिल्म बिगारेपछि ‘रिसुट’ गर्नु परेको थियो ।’

उनले आफूूहरुको बदनाम गराउने प्रयास गरेको आरोप लगाँउदै हेमराजलाई नेपाल बसेर ‘फेस’ गर्न चुनौती दिएका छन् । दीपकराले भनेका छन्, ‘मान्छे अमेरिका भागेर गएको छ, यहाँ बसेर ‘फेस’ गर्नु पर्छ नि त, हामीमाथि हिलो छ्याप्ने नियत देखिन्छ, नभए त संघ–संस्था छ नि । त्यहाँ निवेदन खै ? आफू चाहिँ बाहिर बस्ने अनि यहाँ उहाँले पैसा तिर्नु पर्ने मान्छेको लाइन छ, आरोप त जसलाई लगाउन नि पाइयो, तर त्यो पुष्टि गर्न सक्नु पर्छ, त्यो पुष्टि गर्न पहिला आफैँले ‘फ्रड’ काम गर्न बन्द गर्नु पर्छ ।’

हेमराज ‘छक्का पञ्जा ४’ प्रदर्शनको केही समयपछि अमेरिका गएका थिए । त्यसपछि उनी नेपाल फर्किएका छैनन् । ‘छक्का पञ्जा’ नेपाली फिल्म क्षेत्रमा सबैभन्दा सफल सिरिज पर्छ । यस फिल्मले नेपाली बक्सअफिसमा झण्डै १८ करोड ग्रस कमाइ गरेको छ । यो नेपाली बक्सअफिसले सार्वजनिक गरेको हिसाब हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट