‘होस्टेल ३’ निर्माणको घोषणा, नयाँ निर्देशक भित्रिए-Sutra News

‘होस्टेल ३’ निर्माणको घोषणा, नयाँ निर्देशक भित्रिए

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडाैं । फिल्म ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ। यो फिल्मको तेस्रो सिरिजलाई नयाँ निर्देशक सशान कँडेलले निर्देशन गर्ने भएका छन् । फिल्मको कथा पनि कँडेलले नै लेखेका हुन् ।



यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’मा उनको लगानी रहने छैन। उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन्।

यसअघि वि.सं. २०७६ सालमा निर्माता रावल आफैले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए। विविध कारणले उनले फिल्म बनाएनन्। सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ‘होस्टेल ३’ बनाउनेछ। निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्।

वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए। अनमोल केसीको पहिलो फिल्म ‘होस्टेल’ थियो। फिल्म सफल हुँदा उनी ‘स्टार’ कहलिए ।

‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए। उनले यस फिल्मबाट पनि अघिल्ला भागहरूमा जस्तै केही स्टार कलाकारको जन्म हुने सङ्केत गरे। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका सशान कँडेल डेढ दशक देखि गायक र म्युजिक भिडियो निर्देशकको रूपमा सक्रिय छन्। ‘होस्टेल ३’का लेखक माधव शर्माले करिब डेढ वर्ष लगाएर यो फिल्मको स्क्रिप्ट तयार पारेको र आफ्नो लेखन करियरको कोशे ढुङ्गा साबित हुने विश्वास लिएका छन्। फिल्मलाई यो बर्षको अन्त्यतिर रिलिज गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट