चौतर्फी आलोचनापछि सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको स्पष्टीकरण-Sutra News

चौतर्फी आलोचनापछि सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको स्पष्टीकरण

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडाैं । सहकारी ठगीको विषयमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध निरन्तर समाचार प्रकाशन प्रसारण भइरहेका छन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमै स्पष्टीकरणदेखि राजीनामासम्मको आवाज उठाइरहेको छ । अन्य सांसदहरुले समेत यसबारे कुरा उठाएका छन् । सञ्चारमाध्यमदेखि संसदसम्मको घेराबन्दीमा परेका गृहमन्त्री रवि लामिछाने फेरि एकपटक सामाजिक सञ्जालमा पोखिएका छन् । खासगरी मंगलबार सञ्चारमाध्यमहरुले प्रकाशन गरेका समाचारहरुप्रति उनी क्रुद्ध भएको देखिन्छ ।



फेसबुकलगायतका सामाजिक सञ्जालमा गरेको पोष्टमा सञ्चार माध्यममा आएका समाचार सामग्रीलाई उनले ‘तरकारी’को संज्ञा दिएका छन । उनले भनेका छन्, ‘आलु काउली खाँदा खाँदा वाक्क लाग्याथ्यो, आज काउली आलु आएछ । फरक त्यत्ति हो ।’

आँफूविरुद्ध आएका समाचार भ्रमपूर्ण रहेका उनको दावी छ । उनले यसलाई दुई बुँदामा प्रष्ट पार्ने प्रयास गरेका छन् ।

बुदा नं. १ मा उनले लेखेका छन्, ‘रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रिएट गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो व्यक्तिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन, छैन ।’

यही बुँदामा उनले जिबी राइले गरेको बदमासीको जिम्मेवार आँफु नभएको स्पष्ट पारेका छन् । ‘के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?’, उनको प्रश्न छ ।

लामिछानले अगाडि लेखेका छन्,‘के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र ? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ ? म जीबी राईले ल्याएको लगानीको आम्दानीको स्राेत हेर्ने अधिकारी थिएँ कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिएँ ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ?’

बुदा नं.२ मा उनले बुँदा नं १ पटक–पटक बुझ्ने गरी पढ्न आग्रह गर्दै लेखेका छन्, ‘म सहकारी ठगी कार्यमा कहिँ कतैवाट नजोडिएको र नदेखिएको प्रमाणसहितको तथ्य पुष्टी हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।’

गृहमन्त्री लामिछाने गृहमन्त्रीको कुर्सिमा रहँदै विवादमा आएको यो पहिलो पटक भने होइन । २०७९ को निर्वाचन लगत्तै बनेको प्रचण्ड सरकारमै पहिलो पटक गृहमन्त्री बन्दा समेत उनी नागरिकता विवादमा तानिएका थिए । त्यतिबेला सर्वाेच्च अदालतकै आदेशबाट उनको सांसद र गृहमन्त्रीसहित पार्टी सभापतिको समेत पद गएको थियो ।

दोस्रो पटक गृहमन्त्रीकै कुर्सिमा बसेका लामिछानेको सहकारी ठगि प्रकरणले के परिणाम ल्याउने हो ? त्यो निकट समयले बताउला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट