प्रसाइँले लिएकाे हतियारबारे विवरण नभेटिएपछि मन्त्रालय अन्याेलमा-Sutra News

प्रसाइँले लिएकाे हतियारबारे विवरण नभेटिएपछि मन्त्रालय अन्याेलमा

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लिएकाे हतियार छानबिन गर्न बनेको समितिकाे समय थप गरिएकाे छ । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा गठित समितिले अनुसन्धानका लागि थप समय माग गरेकाे थियाे । गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताएअनुसार समितिलाइ १० दिनकाे म्याद थपिएको हाे ।



१५ दिनको समय पाएकाे समितिले चैत १८ गतेदेखि काम थालेको थियो। समितिले विभिन्न निकायमार्फत प्रसाइँले लिएकाे हतियारबारे विवरण खाेजेकाे थियाे । समितिका सदस्यहरूले जिल्ला प्रशासन कार्यालय झापा, वाणिज्य विभाग, भन्सार विभाग र प्रहरीमार्फत हतियारबारे बुझेका थिए ।

प्रसाइँले जिल्ला प्रशासन कार्यालय, झापाबाट हतियारको लाइसेन्स लिएको दाबी गर्दै आएका छन् । तर, उनले लिएकाे हतियारको आयात इजाजत भने नभेटिएकाे गृह मन्त्रालयले जनाएकाे छ ।

प्रसाईंका बडिगार्डहरूसहित गत चैत ५ गते सर्वोच्च अदालत परिसरबाट हतियारसहित समातिएका थिए । उनीहरू सर्वाेच्च अदालतकाे आदेशसँगै चैत १३ मा छुटेका थिए ।

तर, बडिगार्डहरू छुटेपनि उनकाे हतियारबारे भने प्रश्न उठ्याे । चाैतर्फी प्रश्न उब्जिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी छानबिन थालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट