

काठमाडाैं । घरेलु मैदानमा सम्पन्न अघिल्लो संस्करणको एसीसी प्रीमियर कपको उपाधी जितेको नेपाल उपाधी रक्षाको लक्ष्यसहित ओमानमा जारी एसीसी प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको मात्रै छैन च्याम्पियन प्रदर्शन गर्दा नेपाली क्रिकेटको विश्वभर चर्चा भइरहेको छ ।
सोमबार मुख्य प्रतिद्वन्दी हङकङविरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै सानदार जित निकालेको नेपालले सोमबार नै सेमिफाइनलमा स्थान पक्का गरेपनि मंगलबार भएको खेलमा नेपालसँग पराजित कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेसँगै नेपाल एक खेल अगाडि नै समूह बिजेता बनेको हो ।
मलेसियाविरुद्ध जीतसहित प्रीमियर कपको उपाधि रक्षा थालेको नेपाल कतार र हङकङ विरुद्ध त कमाल कै प्रदर्शन गर्यो । कतार विरुद्धको अन्तिम खेलमा नेपाली स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरीले ६बलमा लगातार ६ छक्का प्रहार गर्दै विश्वकिर्तिमान नै कायम गरेका थिए ।
समूह एको विजेता बनिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दै छ । समूह ‘ए’ मा रहेको कतार समूह चरणका सबै खेल खेल्दै ४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहँदा एक-एक खेल खेल्न बाँकी रहेका साउदी अरेबिया, मलेसिया र हङकङको पनि अन्तिम खेलअघि समान २-२ अंक जोडेकाले सबै टिमको सेमिफाइनल सम्भावना गणितीय रूपमा जिवित छ । समूहको अन्तिम खेलमा साउदीले नेपालको सामना गर्दा मलेसिया र हङकङ भिड्नेछन् ।
१० टिम सहभागी प्रीमियर कपको आयोजक ओमान शतप्रतिशत जितका साथ समूह बि को शिर्ष स्थानमा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । अन्तिम खेलअघि नै शिर्ष स्थानमा रहँदा कुवेत र युएईको समान ४-४ अंक छ । अहिलेको समीकरण हेर्दा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने सम्भावना उच्च छ ।
सेमिफाइनलका खेल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ । यो प्रतियोगिता जित्ने टिमले सन् २०२५ को एशिया कप टि-२० फर्म्याटमा हुनेछ । गत वर्ष उपाधी जितेको नेपाल र आयोजक ओमानलाई प्रतियोगिताको उपाधी दाबेदार मानिएको छ । बुधबार समूह चरणको अन्तिम खेलमा साउदी विरुद्ध कस्तो प्रदर्शन गर्ला ? सेमिफाइनलमा नेपालले युएई वा कुवेतमध्ये कसलाई प्रतिद्वन्दी पाउला ?