दुई हजारको बिन्दुबाट पनि तल ओर्लियो शेयर बजार-Sutra News

दुई हजारको बिन्दुबाट पनि तल ओर्लियो शेयर बजार

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । लगातार गिरावटका बीच शेयर बजार दुई हजारको बिन्दुबाट तल ओर्लिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार १४.८१ अंकले घट्दै बजार १९९१.७१ को बिन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.७३ प्रतिशतले घटेको छ ।



यसअघि आइतबार र सोमबार पनि शेयर बजारमा गिरावट आएको थियो । आइतबार दोहोरो अंकले घटेको बजारमा सोमबार एकल अंकले गिरावट आएको थियो ।

मंगलबार नेप्सेका जलविद्युत, लघुवित्त र अन्य उपसूचकमा गिरावट आयो । सबै सूचक राताम्मे बनेको नेप्सेमा कारोबारमा आएका २४४ कम्पनीमध्ये २०० कम्पनीकै मूल्य घटेको स्टक एक्सचेन्जले जनाएको छ । यस दिन ४२ कम्पनीको मूल्यमा सामान्य बृद्धि भयो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।

निरन्तर गिरावटका बीच शेयर बजारमा कारोबार रकम पनि घटेको छ । मंगलबार ५४ लाख ७१ हजार कित्ता किनबेच हुँदा कारोबार रकम दुई अर्ब १० करोड ३० लाख रुपैयाँको भयो । जुन दुई महिना यताकै कम कारोबार रकम भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन गुराँस फाइनान्स, सूर्यज्योति लाइफ, पोखरा फाइनान्स, सवोत्तम सिमेन्ट र सिवम् सिमेन्टको कारोबार उच्च भएको स्टक एक्सचेन्जले जनाएको छ । गुराँस फाइनान्सको २ लाख १२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १७ करोड ५९ लाख रुपैयाँ बराबरको भयो ।

नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा उत्साह छाउने अनुमान गरिएको थियो । ब्याजदरमा गरिएको परिमार्जनले पनि लगानीकर्ता उत्साहित भएको विश्लेषण गरिएको थियो । तर, नयाँ वर्ष प्रारम्भसँगै बजारमा देखिएको लगातारको गिरावटले लगानीकर्तालाई निराश बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट