‘खजुरे ब्रो’ले जगाएन आशा, के होला हलमा ?-Sutra News

‘खजुरे ब्रो’ले जगाएन आशा, के होला हलमा ?

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । एउटा नेपाली उखान ‘हिस्स बुढि, खिस्स दाँत’ भने जस्तै भएको छ फिल्म ‘खजुरे ब्रो’लाई । आगामी वैशाखको २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म खुजरे ब्रोलाई अहिलेको अवस्था देखिनुले यस्तो भन्नु परेको हो ।



कमेडी जनरामा बन्नेको यो फिल्म बन्न त बन्यो तर, बने जस्तै मात्र भइरहेको छ । किन भन्ने विषयमा यस फिल्मलाई लिएर सुरूवातमा केही हदसम्म चर्चामा आए पनि प्रदर्शन मिति नजिकिँदै जाँदा हराए जस्तै देखिन पुगेको छ ।

धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही पात्रलाई माध्यम बनाएर यो फिल्म बनेको हो । धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि निधन भइसकेको छ । उनी कस्ता थिए भनेर हेर्न यूट्यूबमा भिडियोहरू देख्न सकिन्छ ।

धरानमा मानिसहरूका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि र जीवनको पछिल्लो समयमा दुखान्त कहानी कस्तो रहेको थियो भन्ने कथावस्तु यस फिल्मभित्र देख्न पाइने बताइन्छ ।

यस फिल्मलाई सुरज सुनुवारको निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक उनी स्वयमकै लेखन रहेको छ । फिल्म त धेरै बन्छन् तर, बनाउनभन्दा चलाउन कठिन हुन्छ । यो फिल्मको पनि निर्माण चरणमा केही चर्चा पाउन सफल भएको थियो ।

फिल्ममा नीति शाह जोडिएपछि यसले केही हदसम्म चर्चा पायो । यसपछि छायांकनकै चरणमा रहँदा फिल्ममा धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको पनि विशेष भूमिका रहने बताएपछि थप चर्चा भएको थियो ।

नीति फिल्मा अनुबन्धित भएपनि उनले यसअघि नायकद्वय अनमोल र प्रदिप खड्कासँग फरक–फरक फिल्ममा काम गर्न खोजिएको प्रयासले निकै तहल्का पिट्यो । यता, फिल्मको घोषणा गर्ने क्रममा नायकद्वय अनमोल र प्रदिपसँग डेब्यु गर्न नपाएकी नीतिले रेयर राईसँग जोडि लेखिएको रहेछ भनेकी थिइन् । तर, उनको यो कुरालाई सुरूवातमा अभिनय गर्न खोजेका फिल्म जतिको पनि चर्चा हुन सकेन ।

अहिले प्रदर्शनको मिति नजिकिरहेको अवस्थामा फिल्मले सोचे जस्तो साथ पाउन सकेको छैन । नीति शाहको डेब्यु फिल्म भनेर दर्शकले एक किसिमको चासो दिए पनि फिल्मका गीत र टिजरले भने दर्शकको मन जित्न सकेको देखिन्न ।

केही समयअघि फिल्मको ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको थियो । गीत सार्वजनिक दुई हप्ता बढी भइसक्दा पनि गीतलाई जम्मा १ लाख १८ हजार दर्शकले हेरेका छन् । यता, केही दिनअघि सार्वजनिक भएको फिल्मको टिजरलाई एक लाखले पनि हेरेका छैनन् ।

यस हिसाबले हेर्दा, फिल्मले भने जस्तो सफलता नपाउने प्रष्ट देखिन्छ । पछिल्लो समय जति प्रचार भयो त्यति नै फिल्मप्रति दर्शले चाँसो देखाउँछन् ।

फिल्म खजुरे ब्रोले न सोचे जस्तो प्रचार गर्न सक्यो न त फिल्मप्रति दर्शकले चाँसो नै देखाए । हुन त, फिल्मप्रति दर्शकको चासो नदेखाएपनि नीतिप्रति भने आम फिल्म क्षेत्रले चासो देखाइरहेको छ । तर, एक व्यक्तिमाथिको चासो र चर्चाले मात्र फिल्म चल्न मुस्किल नै देखिन्छ ।

उसो त निर्माण टिम हाम्रो टिजर यूट्यबको ट्रेण्डिङ्गमा छ भनेर मख्ख छन् । अब, कतिपय फिल्म हलले प्रचार प्रसार नभएकै कारण सोचेअनुरूपको शोज नदिएका उदाहरण पनि यसअघि फिल्महरूबाट लिन सकिन्छ ।

यूट्युबको भ्यूज र फिल्म हलहरूले आफ्नो साइटमा राखिदिएको पोस्टर देखेर मख्ख भएर फिल्म हलमा प्रदर्शन गर्न तयार भएको निर्माण टिमले हलसम्म दर्शकलाई तान्ने माहौल किन सिर्जना गर्न सकिरहेका छैनन् ? यो उनीहरुले नै जानुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट