एमालेलाई फकाउँदै कांग्रेस, सत्ता सहकार्य कति सम्भव ?-Sutra News

एमालेलाई फकाउँदै कांग्रेस, सत्ता सहकार्य कति सम्भव ?

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । सत्ता साझेदारभित्र विवाद चर्कंदो छ । सुदूरपश्चिम प्रदेशको नेतृत्वलाई लिएर सत्ता साझेदारभित्रको विवाद सतहमा पोखिएको छ । एकातिर नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजित बनेको छ भने अर्कोतिर नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन परिवर्तन गर्ने चेतावनी दिन थालेको छ ।



सुदूरपश्चिममा नाउपा विभाजित हुँदै गर्दा एकीकृत समाजवादीले कित्ता परिवर्तन गर्दै कांग्रेस पक्षमा आफूलाई उभ्याएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिमबाट देशव्यापी समीकरण परिवर्तनको चेतावनी पनि दिइरहेको छ ।

यस्तोमा सत्ता समीकरण के हुने अन्योल उत्पन्न भएको छ । सुदूरपश्चिमबाट देखिएको विवादसँगै सत्ता समीकरणको भविष्यबारे पनि अनुमानहरू हुन थालेका छन् ।

यद्यपि, यहीबीच सत्ता साझेदार दलहरू विवाद समाधानको खोजीमा जुटेका छन् । तथापि, एकीकृत समाजवादीको ‘समान हैसियत’ मागको एजेन्डाले साझेदारहरूबीच सहज समाधानको अपेक्षा गर्न सकिन्न ।

साझेदारभित्र किचलो बढ्दै जाँदा सत्ता राजनीति कसरी अगाडि बढ्ला भन्ने अन्योल राजनीतिमा देखिएको छ । यस्तोमा प्रमुख प्रतिपक्षीको बेन्चमा पुगेको नेपाली कांग्रेस केही उत्साहित देखिन थालेको छ ।

पछिल्लो किचलोका बीच कांग्रेसले एमालेसँग सहकार्यको खोजी गर्न थालेको छ । बढ्दो अस्थीरताको समाधान मुख्य दल मिलेर दिनुपर्ने भाषा कांग्रेसका नेताहरूले बोल्न थालेका छन् ।

मंगलबार धनगढी पुगेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमाले मिल्नुपर्ने बाध्यकारी परिस्थिति बनेको बताए । उनले मुलुकका मुख्य एजेन्डामा कांग्रेस र एमालेबीच अनिवार्य सहकार्यको खाँचो रहेको दाबी गरे ।

“यो अस्थिरताको निकास खोज्नैपर्छ, यी साना दोकानहरू बन्द गराउनै पर्छ”, महामन्त्री थापाले भनेका छन्, “अब निर्वाचन प्रणाली बदल्नुपर्छ, त्यसको लागि कांग्रेस र एमाले मिल्नैपर्छ ।”

केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले पनि कांग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति आएको बताएका थिए । उनले एमाले नेताहरूलाई खुला रूपमा सहकार्यको प्रस्ताव पनि गरेका थिए ।

“मैंले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ”, कोइरालाले भनेका छन्, “राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।”

कांग्रेसका नेताहरूले अनौपचारिकरूपमा सहकार्यको प्रस्ताव गरिरहँदा एमालेका कतिपय नेताहरूले पनि सहकार्यको खाँचो औंल्याउन थालेका छन् । एमाले नेताहरूले पनि राजनीतिक स्थिरताका लागि कांग्रेस–एमालेबीच सहकार्य हुनुपर्ने बताउन थालेका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हालै एक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै एमाले र कांग्रेस मिलेर देशलाई निकास दिनुपर्ने बताएका छन् । “जुन खालको अंकगणित छ, त्यो अस्थिरताको कारक बनेको छ, अनि अस्थिरता भयो भनेर रोइलो गरेर हुँदैन”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन्, “उपयुक्त समयमा मुख्य दलहरूबीच सहकार्य गरेर जानु नै मुलुकको हितमा हुन्छ ।”

यद्यपि, राजनीतिक विश्लेषक तत्कालै कांग्रेस र एमालेबीच सहकार्यको अवस्था नरहेको बताउँछन् । मुख्य प्रतिस्पर्धी पार्टी भएको कारण पनि कांग्रेस र एमालेबीच सहकार्य हुँदा दुवै पार्टी थप कमजोर बन्ने विश्लेषकहरुको अनुमान छ ।

“अहिले मुख्यगरी विवाद एकीकृत समाजवादीको कारण देखिएको छ, एकीकृत समाजवादीकै बहुमत सदस्य अहिलेको सत्ता गठबन्धनबाट बाहिरिने पक्षमा देखिन्नन्”, राजनीतिक विश्लेषक मुकुन्द आचार्यले भनेका छन्, “केही किचलो भइरहन्छ तर, यो गठबन्धन तत्काल टुट्न सम्भव देखिन्न ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट