कलाकारको लाइन अप देखाउँदै बसन्त !-Sutra News

कलाकारको लाइन अप देखाउँदै बसन्त !

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’मा कलाकारहरूको लाइन अप बलियो बन्दै गइरहेको छ । सुरुवातमा हाँस्य कलाकार जितु नेपाल अनुबन्धित गारएको निर्माण टिमले यस पछि नीति शाह र स्ट्यान्ड अप कमेडियन हिमेश पन्तलाई भित्र्याइएको थियो ।



हुन त, यो फिल्म घोषणा गरिएको १० महिना सम्म पनि छायांकनमा जान सकेको छैन । तर, निर्माण पक्षले एकपछि अर्को गर्दै कलाकारहरुको बलियो लाइन अप सार्वजनिक गराउँदै आइरहेको छ । यतिबेला फिल्मको टिमले अर्का एक हाँस्य कलाकार विल्सन विक्रम राईलाई अनुबन्धित गारएको छ । विल्सन आफै पनि फिल्म निर्देशन गर्ने तयारीमा छन् । तर, उनले अन्य ब्यानरका फिल्ममा पनि धमाधम काम गरिरहेका छन् ।

राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्मलाई आउँदो बर्षको तिहारमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागेको यो फिल्ममा निर्माणपक्षले दिएको जानकारी अनुसार विल्सनको भूमिका पावरफूल रहेको बताएको छ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यस फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

फिल्मको छायांकन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी निर्माण पक्षले गरिरहेको छ । निर्देशक निरौलाले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले यसअघि आफूले निर्देशन गरेका फिल्मभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट