प्रचण्ड–झलनाथ भेटवार्ता, के भयो कुराकानी ?-Sutra News

प्रचण्ड–झलनाथ भेटवार्ता, के भयो कुराकानी ?

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा देखिएको असमझदारीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देखिएका असमझदारीलाई कसरी हल गर्ने भन्ने कोणबाट कुराकानी भएको बताइएको छ ।



एक घण्टा बढी भएको छलफलबाट बाहिरिएका एकीकृत समाजवादीका सम्मानित नेता खनालले छलफल निकै सकारात्मक भएको बताए । सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने र अन्य विवाद मिलाउने गरी छलफल भएको उनले बताए ।

“सबैतिर विवाद सुदूरपश्चिममा देखिएको छ, यो हल हुन्छ, प्रधानमन्त्रीलाई मैंले कुरा राखेँ, उहाँ सकारात्मक हुनुहुन्छ”, खनालले भनेका छन्, “आज नै निकास दिन्छौं ।”

बालुवाटारको छलफलमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पछि सहभागि थिइन् । एकीकृत समाजवादीको अडानप्रति श्रेष्ठले पनि सहमति जनाएको खनालले बताएका छन् ।

“उहाँ (रञ्जिता श्रेष्ठ) पनि सहमत नै हुनुहुन्छ, प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउँछ”, उनले भनेका छन् ।

यसअघि सत्ता साझेदार दलहरुबीच सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति बनेको थियो । यद्यपि, मुख्यमन्त्रीमा दाबी गर्दा नाउपा विभाजित भएसँगै एकीकृत समाजवादीले पनि रेशम चौधरी पक्षीय लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो ।

एकीकृत समाजवादीले आफूले नपाएपछि रेशम पक्षीय नेतालाई समर्थन गरेको कुरा बताएको थियो । सँगै एकीकृत समाजवादी अन्य प्रदेशमा पनि सत्ता साझेदारलाई अप्ठ्यारो पार्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट