‘भाइरल गोर्खे’ बन्दै सौगात, जोडीमा श्रृष्टी-Sutra News

‘भाइरल गोर्खे’ बन्दै सौगात, जोडीमा श्रृष्टी

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । नयाँ नेपाली फिल्म ‘भाइरल गोर्खे’ निर्माणको घोषणा गरिएको छ ।



सामाजिक संजालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा आधारित रहेर बन्न लोको फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रमुख भूमिका रहने बताइएको छ ।

‘छड्के’ फेम्ड निर्देशक निगम श्रेष्ठको निर्देशनमा बन्ने ‘भाइरल गोर्खे’मा सौगात र श्रृष्टीको जोडीलाई पर्दामा देखाउन लागिएको हो । उनीहरुले यस अघि फिल्म ‘राधा’मा एकसाथ काम गरेका थिए । बैशाख ६ गतेदेखि छायांकनमा जान लागेको फिल्ममा सौगात र श्रृष्टी पुन: एकसाथ काम गर्ने भएका छन्

सामाजिक विषयवस्तुका साथै कमेडी कथामा निर्माण हुन लागेको यो फिल्मको छायांकन गोरखामा नै गरिनेछ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा दुई राँगामाथि सौगात मल्ललाई उभिएको देख्न सकिन्छ । जहाँ उनी दुई राँगामाथि चढेर क्यामेराका लागि पोज दिइरहेको देख्न सकिन्छ । जस अनुसार यो फिल्ममा सौगातको भूमिका कस्तो हुनेछ भन्ने अनुमान लगाउन सकिन्छ ।

कमेडी जनरामा निर्माण हुने ‘भाइरल गोर्खे’ले भाइरल हुन जे पनि गर्ने प्रवृत्तिलाई व्यंग्य गर्ने बताइएको छ । फिल्ममा बुद्धि तामाङ र लक्ष्मी गिरीको पनि मुख्य भूमिका रहनेछ । द जीएमआई एकेडेमी र निरभाना फिल्म स्कुलको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ ।

फिल्मको कामका लागि नायक सौगात मल्ल गोरखा पुगिसकेको निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट