एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, ८ विकेटले हङकङ पराजित-Sutra News

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, ८ विकेटले हङकङ पराजित

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१
फाइल तस्बिर

काठमाडाैं । ओमानमा जारी एसीसी प्रीमियर कप २०२४ मा आफ्नो तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपालले समूह ‘ए’बाट सेमिफाइनल यात्रा अब औपचारिकता मात्रै सिमित राखेको छ ।



वर्षाका कारण २ ओभर छोट्याइएको खेलमा टस हारेर पहिला ब्याटिङ थालेको हङकङले दिएको ११५ रनको सामन्य लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा केवल २ विकेटको क्षतिमा पूरा गर्दा ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए ।

कप्तान रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिएका थिए ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा ११४ रनमा अल आउट भएको थियो ।

हङकङका लागि कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए पनि अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्दा आजको तेस्रो खेलमा जितसँगै सेमिफाइनल यात्रा तय गरेपनि समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । एसीसी प्रीमियर कपको डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएसँगै उपाधी रक्षा गर्ने प्रष्ट संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट