१६ अंकले नेप्से घट्दा १८४ कम्पनीको मूल्यमा गिरावट-Sutra News

१६ अंकले नेप्से घट्दा १८४ कम्पनीको मूल्यमा गिरावट

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजारमा गिरावट आएको छ । सोमबार १६.८२ अंकले घट्दै बजार २००६.५२ को बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा ०.८३ प्रतिशतले बजार ओर्लियो ।



यस दिन शेयर बजारका सबै सूचकांक रातामम्मे बने । वित्त, होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा एक प्रतिशतभन्दा बढीले गिरावट आउँदा अन्य उपसमूहमा एक प्रतिशत मुनिको गिरावट आयो ।

स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबारमा आएका २४४ कम्पनीमध्ये १८४ कम्पनीको मूल्यमा गिरावट आयो । यस दिन ५२ कम्पनीको मूल्यमा सामान्य सुधार आउँदा ८ कम्पनीको मूल्य स्थिर रहे ।

स्टक एक्सचेन्जका अनुसार सोमबार गुराँस लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रो, निफ्रा हाइड्रो र माण्डु हाइड्रोको मूल्य उच्च अंकले घटेको छ ।

बजार घट्दा यस दिन कारोबार रकम पनि घटेको छ । स्टक एक्सचेन्जका अनुसार यस दिन ७२ लाख २३ हजार कित्ता किनबेच हुँदा दुई अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन न्याग्दी गुप्र पावर कम्पनीको कारोबार सबैभन्दा बढी भएको स्टक एक्सचेन्जले जनाएको छ । यस दिन न्याग्दीको ५ लाख २७ हजार ९२७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १७ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट