छिचोलियो नागढुंगा-सिस्ने खोला सुरुङमार्ग-Sutra News

छिचोलियो नागढुंगा-सिस्ने खोला सुरुङमार्ग

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडाैं । नागढुंगा-सिस्ने खोला सुरुङमार्ग छिचोलिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।



निर्माण थालेको ५३ महिनापछि नागढुंगा-सिस्ने खोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपनि सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा सुरुङको शिलान्यास गरेका थिए ।

सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिने आयोजनाले जनाएको छ । साढे आठ किलोमिटर दूरीकाे यात्रा सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरकाे मात्रै हुनेछ ।

जनाइएअनुसार मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ ।

मुख्य सुरुङमा समस्या पर्दा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोकाहरू छन् ।जसकाे अहिले फिनिसिङ भइरहेको छ ।

सुरुङकाे ब्रेक थ्रु भएपनि सुरूङभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम बाँकी नै छन् । जुन काम सक्न अझै केही महिना लाग्नेछ ।

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग जापानिज हाजमा आन्दो कर्पोरेसन बनाइरहेको छ ।

२२ अर्ब रुपैयाँकाे यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ भने नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट