दिन प्रतिदिन चर्चामा ‘बुझिनँ मैले’ गीत-Sutra News

दिन प्रतिदिन चर्चामा ‘बुझिनँ मैले’ गीत

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को सार्वजनिक पछिल्लो गीत ‘बुझिनँ मैले’ चर्चामा छ । आगामी बैशाख १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको गीतमा समीक्षा अधिकारीको स्वर र प्रकाश सपुतको शब्द तथा संगीत छ ।



नाटकमा आधारित भएर बनेको फिल्म ‘बोक्सीको घर’को गीतको भिडियोमा केकी, फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती र चरित्र अभिनेत्री रमा थपलिया फिचर्ड छिन् । गीतले फिल्मको लोकप्रियतालाई दिन प्रतिदिन चर्चामा चुल्याएको छ।

यो गीत सबैको चासोको विषय बनेको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई युट्युबमा ४२ लाख ५३ हजार बढी भ्यूज मिलिसकेको छ । यता, गीत लोकप्रिय हुनुमा यसको अडियो पक्षको पनि ठूलो योगदान छ । गीतको शब्द सशक्त र अर्थपूर्ण छन् । विशेषगरी दोस्रो हरफ ‘फूलजस्ती रे, जुनजस्ती रे’ बुलन्द छ । संगीत र गायन गीतको अर्को बलियो पक्ष हो । त्यसमाथि गायक तथा अभिनेता प्रकाश सपूतले गीत तयार पारेका हुन् । उनको नाम आफैंमा हिटका ‘ग्यारेन्टी’ मानिन्छन् ।

यस्तै यो गीतको अर्को अन्तरा ”जून जस्ती रे, फूल जस्ती रे ! कञ्चन खोला झरनाको, मूलजस्ती रे ! म बोक्सी, म देवी, म डार्लिङ, म बेबी, यो थरीथरी नाताले, यो सुन्दरताको गाथाले, म बाँधिएकी हुँ या सजिएकी हुँ ? बुझिनँ मैले, बुझाइदेऊ   कसैले”ले पनि फिल्मलाई लोकप्रिय बनाउन ठूलो भूमिका खेलेको छ ।

गीतमा एउटा महिलालाई समाजले गर्ने तारिफ र घृणा शब्दको वाणले गर्ने गरेको झल्काइएको छ । गीतमा प्रयोग भएका ‘राम्री’, ‘बोक्सी’ जस्ता शब्दले पनि महिलाप्रति समाजले हेर्ने दृष्टिकोणलाई देखाएको छ । पितृसत्तात्मक समाजमा महिलालाई केही भएमा पुरुषको नजरले कसरी हेर्छ भन्ने कुरा प्रकाशमार्फत बुझाइएको छ ।

गीतमा केकीका तीन भाव खुशी, डर र आक्रोश प्रष्ट देखिन्छ । गीतको सुरुवातमा एक विवाहित युवतीका लागि सिउँदोमा सिन्दुर र गलामा पोतेले दिएको खुशी देखाइएको छ । त्यस्तै धोती र चोली तथा घुम्टो र डोलीका युवतीका लागि कतिको खुशीका कुरा हुन् भन्ने अथ्र्याइएको छ । यति हुँदा हुँदै पनि आफू कसरी बाँधिएँ भन्ने कुरा बुझ्न नसकेको गीतमा भाव प्रकट गरिएको छ ।

गीतमा केकीको शारीरिक हाउभाउ, अनुहारको एक्सप्रेसन, नृत्य र आँखाको भाव जबर्जस्त देखिएको छ । उनले नृत्य गरेका अन्य गीतभन्दा ‘बुझिनँ मैले’ अहिलेसम्मकै पृथक गीत हो । गीतमा खुशी हुँदा र दुःखी हुँदाको आक्रोश उनमा उत्तिकै देखिन्छ । अभिनेत्री उमा र फिल्मका लेखक तथा निर्देशक सुलक्षणको दृश्य देखाइरहँदा केकीमा खुशी र दुःख किन छ भन्ने बुझ्न सकिन्छ । उनीहरुबाहेक बालिका र कोरस पनि छन् ।

गीतमा प्रयोग भएको ‘आकाशै बधु’, ‘पातालै बधु’, ‘भूतप्रेत बधु’, ‘डंकनी बधु’ ‘पिसाचै बधु’ शब्ले गाउँमा धामीझाक्रीको चरित्रलाई बुझाएको छ । यही शब्द अनुसार दृश्यमा सुलक्षण राती राँको बालेर केही खोज्न हिँडेको देखाइएको छ ।

कोरियोग्राफर सुनील क्षेत्रीले केकीलाई प्रष्ट रुपमा प्रस्तुत गरेका छन् । खुशी, पीडा र आक्रोशलाई देखाउन केकी र सुनीलको मेहनत देख्न सकिन्छ । अभिनेत्री रमा थपलियाको अनुहार र आँखाको भावले पनि केकी प्रति उनको दृष्टिकोण र बुझाई प्रष्ट झल्किन्छ । उमाको शंकालु नजरलाई गीतमा देखाइएको छ । गीतमा अभिनय गरेका बालबालिकाले समग्र महिलाको प्रतिनिधित्व गरेका छन् ।

प्रकाशको संगीत भएकाले पनि उनको फ्लेभर प्रष्ट बुझ्न सकिन्छ । यस्तो फ्लेभर प्रकाशले आफ्ना सिर्जनामा कहीँ कतै दिइरहेका हुन्छन् । गायिका समीक्षाले पनि गीतको शब्द र भाव अनुसार स्वरमा न्याय दिएकी छन् । गीतको भिडियोमा प्रयोग गरिएका स्रोत साधन हेर्दा भिडियो मेकिङमा कुनै कञ्जुस्याइँ गरिएको छैन । भाव अनुसार नै दृश्य खिचिएका छन् ।

८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई प्रस्तुत गरिएको छ । सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कूप्रथालाई चित्रण गर्नेछ ।

फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायत कलाकारको अभिनय छ। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। टिफल्क फिल्म्सले फिल्मलाई वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट