पहिरोमा १५ जनाको मृत्यु, दुई बेपत्ता-Sutra News

पहिरोमा १५ जनाको मृत्यु, दुई बेपत्ता

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनमामा दुई जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।



स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र बाँचेका दुई जनाको उद्धार गरिएको बताए ।

“तीमध्ये दुई जना बाँचेका छन् भने अन्य १५ जनाको दुःखद मृत्यु भएको छ”, उनले भने, “बासिन्दाहरूले बताएअनुसार अहिले पनि दुई जना बेपत्ता भएका छन्, सम्भवतः उनीहरू पहिरोको भग्नावशेषमुनि रहेका हुन सक्छन् ।”

ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेष गरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताए । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उनको भनाइ थियो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट