नाउपाको दोहोरो दाबी : कैलाशलाई सत्ता साझेदार र किशोरलाई कांग्रेसलगायतको समर्थन-Sutra News

नाउपाको दोहोरो दाबी : कैलाशलाई सत्ता साझेदार र किशोरलाई कांग्रेसलगायतको समर्थन

आइतबार, २ बैशाख २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नागरिक उन्मुक्ति पार्टीबाटै दोहोरो दाबी परेको छ । आइतबार नागरिक उन्मुक्तिको तर्फबाट कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको तर्फबाट बेग्ला–बेग्लै दाबी पेश भएको हो ।



कैलाश चौधरी नाउपा अध्यक्ष रञ्जिता क्षेष्ठ पक्षधर हुन् भने लक्ष्मणकिशोर चौधरी रेशम चौधरी पक्षधर हुन् । कैलाशलाई केन्द्रीय सत्ता साझेदार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीले समर्थन गरेका छन् भने लक्ष्मणकिशोरलाई कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

एमाले, माओवादी र एकीकृत समाजवादीले नाउपाको रञ्जिता पक्षीय नेता कैलाश चौधरीलाई सघाउने निर्णय केन्द्रमा गरेका थिए भने प्रदेशमा तहमा कांग्रेस र एकीकृत समाजवादीले रेशम चौधरी पक्षीय नेता लक्ष्मणकिशोर चौधरीलाई सघाउने निर्णय गरेका थिए ।

नाउपा विभाजित भएर बेग्ला–बेग्लै दाबी पेश गर्दा प्रदेश तहमा एकीकृत समाजवादी पनि विभाजित बनेको छ । केन्द्रमा रञ्जिता पक्षसँग सहकार्यको सहमति गरेको एकीकृत समाजवादीको प्रदेश संसदीय दलले भने रेशम चौधरी पक्षलाई सघाउने निर्णय लिएको छ ।

एउटै पार्टीबाट दोहोरो दाबी परेपछि प्रदेश प्रमुखको कार्यालय अन्योलमा परेको छ । सुदूपश्चिम प्रदेश प्रमुख कार्यालयका निमिक्त सचिव शैलेशराज ढुंगानाले अध्ययन गरेपछि मात्रै नियुक्त गर्न सकिने भन्दै आज निर्णय हुन सम्भव नभएको बताए ।

“अब अध्ययन गरेर मात्रै निर्णय लिने अवस्था रहन्छ, आजै मुख्यमन्त्री नियुक्ति सम्भव देखिन्न”, सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेससँग १८, माओवादी केन्द्रसँग सभामुखसहित ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, एकीकृत समाजवादीसँग ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् ।

सम्बन्धित समाचार

रञ्जिताले गरेको सहमतिलाई चुनौति दिनेगरी कांग्रेसलगायतसँग रेशमको अर्को सहमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट